सडक मिचेका संरचना हटाउन निर्देशन

जनता अभियान सोमबार, मंसिर १९, २०७९

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन दिइएको छ।

सडक डिभिजन कार्यालय दाङले मङ्गलबारदेखि लागू हुनेगरी १५ दिने सूचना जारी गरी राजमार्गको सडक क्षेत्र मिचेर बनाएका संरचना हटाउन निर्देशन गरेको हो।

दाङ खण्डको धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँबाँया ३१/३१ मिटरभित्रका संरचना हटाउन निर्देशन गरिएको सूचना अधिकारी रिकेश महर्जनले जानकारी दिए।

उनका अनुसार पुस १५ भित्र नहटाएमा आफै हटाउने समेत तयारी छ। साथै हटाउन लागेको खर्चसमेत सडक मिच्नेले नै व्यहोर्नुपर्ने सूचनामा उल्लेख छ।

राजमार्गको दाङ खण्ड करिब ७७ किलोमिटर छ। कार्यालयले सोही क्षेत्रका तीन पालिकालाई पनि यो सूचना प्रकाशन गरिदिन अनुरोध गरेको छ।

लमही नगरपालिकासहित राप्ती र गढवा गाउँपालिकालाई पत्र लेख्दै सबै वडाको सूचना पार्टीमा यो सूचना टाँस गर्न पत्र पठाएको डिभिजन प्रमुख इञ्जिनीयर रामपुकार जैसवालले बताए।

पटक-पटक सडक मिचेका भन्ने गुनासो पनि आएको र दुर्घटनाको पनि जोखिम रहेकाले सडक क्षेत्र खाली गर्न निर्देशन दिइएको हो।

यहाँ कमेन्ट गर्नुहोस्