गाई/गोरु पाल्नेलाई अनुदान

जनता अभियान मंगलबार, मंसिर २७, २०७९

म्याग्दीको जलजला गाउँपालिकाले गाईगोरु पाल्नेलाई अनुदान दिने भएको छ।

पालिकाले स्थानीय गाई/गोरु संरक्षण कार्यक्रम अन्तर्गत किसानलाई अनुदान दिएर संरक्षणको पहल सुरु गरेको हो।

धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व बोकेका स्थानीय जातका गाई र गोरु पाल्ने किसानलाई अनुदान दिने लागिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए।

स्थानीय गाई/गोरु संरक्षण कार्यक्रममार्फत् अनुदान वितरणका लागि प्रस्ताव आह्वान गरिसकिएको उनको भनाइ छ।

आधुनिक र व्यावसायिक पशुपालन तथा कृषि प्रवद्र्धनका साथसाथै स्थानीय जातका पशुको आनुवांशिक स्रोत संरक्षण गर्न गाईगोरु पाल्ने किसानलाई अनुदान दिन लागिएको हो।

आर्थिक वर्ष २०७९/८० मा चार सयवटा गाईगोरुका लागि रु चार लाख अनुदान दिन लागिएको गाउँपालिकाले जनाएको छ।

अनुदानका लागि आवेदन दिने किसानले गाईगोरुको बीमा अनिवार्य गर्नुपर्ने हुन्छ। जलजला-७ धाइरिङमा समुदायस्तरबाट गौशाला सञ्चालन गरेर स्थानीय जातको गाई पालिएको छ।

गाउँपालिकाले चालु आवमा दूध सङ्कलन गर्ने ११ वटा समूह र सहकारीका लागि आवश्यक सामग्री उपलब्ध गराउन रु १५ लाख बजेट विनियोजन गरेको थियो भने गत आवमा स्थापना भएको गाईभैँसी पकेट विकास कार्यक्रमको निरन्तरताका लागि रु १२ लाख र नयाँ पकेट स्थापना गर्न रु २५ लाख बजेट विनियोजन गरेको छ।

दूध सङ्कलन केन्द्र तथा सामग्री स्थापना कार्यक्रमका लागि समूह सहकारीबाट आवेदन माग गरिएको पशु सेवा शाखाका प्रमुख दीपक श्रेष्ठले बताए।

यसअघिका वर्षमा गाउँपालिकाले कृत्रिम गर्भाधानबाट जन्मिएका गाईको बाच्छाबाच्छी र भैँसीका पाडापाडी हुर्काउने कृषकलाई पशुको सुत्केरी भत्ता, गोठ र बाख्राको खोर सुधारमा अनुदान दिएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्