जनता अभियान बुधबार, मंसिर २८, २०७९
अर्जेन्टिना कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि नजिक पुगेको छ।
बुधबार बिहानका राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियामाथि ३-० गोलको जित निकाल्दै अर्जेन्टिना फाइनलमा पुगेको हो।
राजधानी दोहास्थित लुसेल रंगशालामा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेजले दुई गोल गरे भने कप्तान लियोनल मेस्सीको नाममा एक गोल रह्यो।
खेलको ३४औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए।
क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो। जसमा मेस्सीले सहजै गोल गरे।
खेलको ४३औं मिनेटमा जुलियन अल्भारेजले गोल गरेपछि अर्जेन्टिनाले २-० गोलको अग्रता बनायो।
खेलको ६९ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-० गोलको सहज जित दिलाए। उनले मेस्सीले उपलब्ध गराएको सुन्दर पासमा सहजै गोल गरे।
अब, अर्जेन्टिनाले साविक विजेता फ्रान्स वा मोरोक्कोसँग उपाधिका लागि खेल्ने छ।
फाइनल भिडन्त ‘कतार डे’ अर्थात् आइतबार बेलुका ८:४५ बजे लुसेल स्टेडियममै हुने छ।
क्रोएसियाले भने तेस्रो स्थानका लागि खेल्ने छ। यो खेल खालिफा इन्टरनेसनल स्टेडियममा शनिबार राति ८:४५ बजे हुने छ।