जनता अभियान बिहिबार, पुष ०७, २०७९
विराटनगर महानगरपालिकाले हिमालय रोडको सबै संरचना एक निर्माण सम्पन्न गरेर महिनाभित्र सञ्चालनमा ल्याउने भएको छ।
सिक्किमको एमजी रोडको नमुनाका रूपमा विराटनगरमा सो रोडमा विभिन्न संरचना निर्माण सुरु गरिएको थियो। ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि निर्माणले गति लिन सकेको थिएन।
महानगरका मेयर नागेश कोइरालाले ठेकेदारलाई बोलाएर निर्माणलाई गति दिन निर्देशन दिएका थिए। मेयरको निर्देशनपछि हाल बत्ती जडान, फाउन्टेन निर्माण, टायल बिछ्याउनेलगायतको सौन्दर्यकरणको काम तीव्र रूपमा भइरहेको छ।
सो सडकको संरचना बिगारेको भन्दै केही स्थानीय अझै पनि विरोध गर्दै आएका छन्। यो सडकलाई एमजी रोडकै नमुनामा बनाउन हुने र नहुने पक्ष–विपक्षमा स्थानीयसमेत विभाजित भएका छन्।
तर, महानगरको ठूलो लगानी भइसकेकाले बनाउनुको विकल्प नभएको मेयर कोइरालाले बताए। मेयर कोइरालाको नेतृत्वमा उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीयसहितको टोलीले तीनपटक अनुगमनसमेत गरिसकेको छ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एक महिनाभित्र सबै काम नसके ठेकेदारलाई कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिए। बिहीबार पनि प्रमुख प्रशासकीय अधिकृत कोइराला र प्राविधिकसहितको टोलीले निर्माणको अवस्थाका विषयमा अनुगमन गरेको थियो।