जनता अभियान आइतबार, पुष १०, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन्।
आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई संविधानको धारा ७६ को (२) बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
एमालेसहित सात राजनीतिक दल, तीन स्वतन्त्रसहित १७० जना बढी सांसदको समर्थनमा दाहाललाई भण्डारीले प्रधानमन्त्री नियुक्त गरेको उनका प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए।
‘नेकपा एमाले, माओवादी केन्द्रसहित सात राजनीतिक दल, स्वतन्त्रसहित १७० जनाभन्दा बढी सांसदको समर्थनमा उहाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ,’ ढकालले नवपथसँग भने, ‘राष्ट्रपति कार्यालयले केही समयपछि विज्ञप्ति निकालेर जानकारी दिनेछ।’
दाहाललाई प्रधानमन्त्रीको दाबी पेश गर्न सात राजनीतिक दलका सबै अध्यक्ष तथा संसदीय दलका नेताहरू शितल निवास पुगेका थिए।
यसअघि १६९ सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री बन्ने भनिएकोमा केही संख्या बढेको ढकालले जानकारी दिए।
यसपटक गरी दाहाल तेस्रोपटक नेपालको प्रधानमन्त्री बनेका छन्। सुरूमा उनी २०६५ सालमा पहिलोपटक प्रधानमन्त्री भएका थिए।
दाहाललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमत पार्टी, स्वतन्त्र सांसद प्रभु साह, डा. अमरेशकुमार सिंह, किरणकुमार साहलगायतको समर्थन छ।