रंगेलीबाट तीन सय किलो गाँजा बरामद, दुई जना पक्राउ

जनता अभियान सोमबार, पुष १८, २०७९

मोरङ प्रहरीले रंगेली नगरपालिकाबाट तीन सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

आइतबार दिउँसो मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

आइतबार दिउँसो साढे ४ बजे प्रहरीले रंगेली नगरपालिका–१ बबियाका मनोज राजवंशीको घरबाट प्रहरीले तीन सय किलो गाँजा बरामद गरेको हो।

राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा १५ वटा बोरामा ‘प्याक’ गरेर लुकाएको गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

विशेष सूचनाका आधारमा प्रहरी टोलीले खानतलासी गर्दा गाँजा फेला पारेको थियो।

एसपी कोइरालाका अनुसार बरामद गाँजा थप अनुसन्धानका लागि हिजै साँझ विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।

गाँजा बरामद भएपछि अन्दाजी ४२ वर्षीय राजवंशीसहित धनकुटाको शहीदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसबाहेक प्रहरीले राईले प्रयोग गर्दै आएको प्रदेश १–०२–०५० प २७९२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी कोइरालाले दिए।

यहाँ कमेन्ट गर्नुहोस्