जनता अभियान मंगलबार, पुष १९, २०७९
विराटनगर महानगरपालिकामा तीनदिने सडक महोत्सव हुने भएको छ।
माघ १२ गतेदेखि १४ गतेसम्म विराटनगरको ट्राफिक चोक र महेन्द्र चोक जोड्ने हिमालयन रोडमा सडक महोत्सव हुने आयोजक मन्जिना मुभिज क्रिएसनले दिएको छ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्थाका निर्देशक जतिन ताम्राकारले महोत्सवमा विभिन्न जातजातिका खानाका परिवार चाख्न पाइने जानकारी दिए।
उनका अनुसार यो दोस्रो संस्करणको विराट सडक महोत्सव हो। यसअघि कोरोना महामारीभन्दा अगाडि पहिलो संस्करणको महोत्सव आयोजना गरिएको थियो। कोभिडका कारण त्यसबीचमा महोत्सव गर्न नसकिएको उनले बताए।
मुख्य प्रवर्द्ध महानगरपालिका रहेको महोत्सवमा ३१ लाखको खर्च हुने आयोजकले जनाएको छ। महोत्सवमा विभिन्न जातजातिका ४० वटा स्टल रहने जनाउँदै उनले स्टल राख्न १५ हजार रुपैयाँ तिर्नुपर्ने जनाए।
राजवंशी, मैथिल, लिम्बू, नेवार, चौधरीलगायत अन्य जातजातिका खानाका परिकार चाख्न पाइने बताइएको छ। त्यसबाहेक हरेक दिन कलाकारहरूको सांगीतिक प्रस्तुति हेर्न पाइने आयोजकको भनाइ छ।