एसइईमा उत्कृष्ट अङ्क ल्याउने १३ विद्यार्थीले पाए रु चार लाख भत्ता

जनता अभियान बुधबार, पुष २०, २०७९

कुश्मा नगरपालिकाले नगरभित्रका १३ विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप रु चार लाख वितरण गरेको छ।

आर्थिक वर्ष २०७९र८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो।

विसं २०७८ को एसइई परीक्षामा सामुदायिक विद्यालयबाट तीनदशमलव ६५ वा सोभन्दा माथिको जिपिए प्राप्त गरेका विद्यार्थीलाई उक्त रकम उपलब्ध गराइएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह बताए।

अध्ययनमा अब्बल रहेका विद्यार्थीलाई प्रोत्साहन तथा कक्षा १२ सम्म सघाउनका लागि मासिक रु दुई हजार पाँच सयका दरले एक वर्षको रकम दिइएको थियो। योसँगै प्रतिविद्यार्थी रु ३० हजारका दरले कुल रु तीन लाख ९० हजार निकासा दिइएको उनले बताए।

यो सुविधा पाउनका लागि कुश्मा नगरपालिकामा रहेका १८ वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भएको हुनुपर्ने शर्त राखिएको थियो। सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गइरहेकाले विद्यार्थी सङ्ख्या बढाउन कुश्मा नगरपालिकाका सामुदायिक विद्यालयबाट एसइईमा उक्त जिपिए ल्याएका विद्यार्थीलाई मात्रै सुविधा दिइएको हो।

नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको नगरप्रमुख रामचन्द्र जोशीले बताए।

सामुदायिक विद्यालयबाट एसइई परीक्षामा समावेश हुने कतिपय विद्यार्थी गरिब तथा विपन्न अवस्थाका हुने भएकाले सामुदायिक विद्यालयका लागिमात्रै कार्यक्रम लागू गरिएको उनको भनाइ थियो। यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने तथा कक्षा ११ बाट उत्तीर्ण हुन नसके छात्रवृत्ति भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको पनि नगरप्रमुख जोशीले बताएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्