२० करोडबढीको हुण्डी कारोबार गरेको आरोपमा धनुषाबाट एक पक्राउ

जनता अभियान सोमबार, पुष २५, २०७९

२० करोडभन्दा बढीको हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषा क्षिरेश्वरनाथ नगरपालिका-१ का ३५ वर्षीय उदयचन्द्र यादव छन्।

केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको टोलीले उनलाई आइतबार क्षिरेश्वरनाथ-१ बाट पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।

‘बीस करोडभन्दा बढीको हुण्डी कारोबार गरेको सूचना आएपछि उनलाई हामीले पक्राउ गरेका हौं,’ थापाले भने।

कारोबारमा प्रयोग भएको ल्यापटप, मोबाइल फोनसमेतका उपकरणहरूसहित पक्राउ गरिएको थापाले बताए।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको थापाले बताए।

यादवलाई ब्युरोले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्