सप्तरीबाट ५३ लाखसहित दुई हुण्डी कारोबारी पक्राउ

जनता अभियान सोमबार, पुष २५, २०७९

स्रोत नखुलेको करिब ५३ लाख रुपैयाँसहित प्रहरीले सप्तरीबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बोदेबरसाइन नगरपालिका-९ देउरीका ३२ वर्षीय रामविलास साह र बोदेबरसाइन नगरपालिका-७ का ५० वर्षीय मायानन्द झा रहेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय कडरबोनाको टोलीले आइतबार राति साढे ११ बजे उनीहरूलाई बोदेबरसाइन नगरपालिका-५ बाट पक्राउ गरेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए।

सिंहका अनुसार पक्राउ परेका दुबै बरसाइन बजारस्थित एक कोठामा बस्ने गरेका थिए। उनीहरूको कोठाबाट २८ लाख ८७ हजार ५ सय, रामविलासको ब्यागबाट १५ लाख र मायानन्दको झोलाबाट ९ लाख बरामद भएको सिंहले बताए।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। दुबै हुण्डी कारोबारमा संलग्न रहेको हुनसक्ने आशंका प्रहरीको छ।

दुबैलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्