विनोद मेहता बिहिबार, पुष २८, २०७९
विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरले चार जना सञ्चारकर्मीलाई सम्मान गरेको छ । सम्मानित चारैजना सञ्चारकर्मी मोरङ जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका छन् ।
सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले बुधबार विराटनगरमा आयोजना गरेको ११औं साधारणसभा एवम् सम्मान कार्यक्रममा चारैजना सञ्चारकर्मी सम्मानित भएका हुन ।
प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ, सञ्चारकर्मी सञ्चार सहकारी संस्थाका अध्यक्ष तथा उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे र नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालले चारैजना सञ्चारकर्मीलाई दोसल्ला ओढाएर सम्मान–पत्रले सम्मान गरेका थिए ।
संस्थाले भोजराज घिमिरे र धनकुमारी थापा (चिना थापा) लाई उत्कृष्ट ऋणिको सम्मान प्रदान गरेका थिए। श्यामसुन्दर सुतिहार र केशव कार्कीलाई असल बचत कर्ताको सम्मान प्रदान गरे ।
असल बचत कर्ताको सम्मानबाट सम्मानित केशव कार्की काम विशेषले विराटनगर बाहिर रहेकाले उनी सम्मान कार्यक्रममा सहभागी हुन सकेनन् ।
४० जना सञ्चारकर्मीबाट सुरु भएको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि. विराटनगरले ११औं साधारसभा मनाइरहँदा संस्थामा एक सय १६ जना सञ्चारकर्मी सदस्य रहेको उपाध्यक्ष दीपक दाहालले बताए ।