प्रधानमन्त्री कप महिला टी–२० को सेमिफाइनल समीकरण पूरा

जनता अभियान बुधबार, माघ ०४, २०७९

सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा समूह चरणको खेल नसकिँदै सेमिफाइनल समीकरण पूरा भएको छ ।

बुधबार समूह बी अन्तर्गत मधेशले लुम्बिनी प्रदेशलाई १६ रनले पराजित भएपछि सेमिफाइनल खेल्ने चार टिमको टुंगो लागेको हो ।समूह ए बाट सुदूरपश्चिम र एपीएफ क्रमसः विजेता र उपविजेताका रुपमा सेमिफाइनल पुग्दा समूह बीबाट प्रदेश १ विजेता र मधेश प्रदेश उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् ।

६ माघमा हुने सेमिफाइनलमा सुदूरपश्चिम र प्रदेश १ तथा एपीएफ र मधेशबीच प्रतिस्पर्धा हुनेछ । बुधबार गण्डकी र बागमतीबीच समूह चरणको अन्तिम खेल हुन बाँकी रहँदै सेमिफाइनल खेल्ने टिमहरु निश्चित भइसकेका हुन् ।

इटहरीको जनता क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ रोजेको मधेशले निर्धारित ओभरमा ५ विकेट गुमाएर १०७ रनको योगफल खडा गरेको थियो । उसका लागि तेस्रो नम्बरमा ब्याटिङ गरेकी साना प्रभिनले अविजित ४६ रन बनाइन् । उनले ६४ बलमा ५ चौका प्रहार गरिन् । रोजी कदारीले १५ रन जोडिन् ।

लुम्बिनीको खराव बलिङका कारण यो खेलको नतिजामै असर परेको हो । लुम्बनीका बलरहरुले अतिरिक्त २७ रन खर्चेका थिए । लुम्बिनीका मनीषा राना, सरस्वती पुन र बिभास्ना बिसीले १–१ विकेट लिए ।

१०८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९१ रनमा सीमित रह्यो । लुम्बिनीका लागि रन्जु श्रेष्ठ र मधु डिसीले समान २१ रनको अविजित पारी खेले । आशा पुलामी मगर र कप्तान सरस्वती जीएमले ११–११ रन बनाए । लक्ष्मी चौधरीले १२ तथा सरस्वती पुनले १० रन जोडिन् ।

बलिङमा मधेशकी भूमी सिंहले २ विकेट लिइन् । उनले ४ ओभरमा १० रन खर्चिइन् । कविता गौतमले १ विकेट लिइन् ।

यहाँ कमेन्ट गर्नुहोस्