संघीय मन्त्रीमण्डलमा प्रदेश १ बाट पाँच जनालाई अवसर

जनता अभियान बुधबार, माघ ०४, २०७९

संघीय मन्त्रीमण्डमा प्रदेश १ बाट पाँच जनाले मन्त्री बन्ने अवसर पाएका छन्। प्रदेश १ बाट प्रतिनिधिसभामा निर्वाचित पाँच जनाले यसपटक संघीय सरकारमा मन्त्री हुने अवसर प्राप्त गरेका हुन्।

नेकपा माओवादी केन्द्रका दुई, नेकपा एमालेका दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक गरी पाँच जनाले मौका पाएका हुन्।

माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीमण्डलमा माओवादीका सुदन किराती र अमनलाल मोदीले मौका पाएका छन्।

भोजपुरबाट निर्वाचित सांसद किराती संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका छन् भने मोरङ ४ मा चुनाव जितेका मोदीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

एमालेबाट सुनसरी ३ बाट निर्वाचित भगवती चौधरी र धनकुटाबाट चुनाव जितेका राजेन्द्रकुमार राई मन्त्री बनेका छन्। चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्दा राईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यता, राप्रपाका अध्यक्षसमेत रहनुभएका राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालय सम्हालेका छन्। उनी झापा ३ बाट निर्वाचित भएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्