सभामुख पदमा उम्मेदवारी दिने वा नदिनेबारे काँग्रेसभित्र छलफल जारी

जनता अभियान बुधबार, माघ ०४, २०७९

 कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको छ ।

आज बिहान बसेको बैठकमा प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिनेबारे कुराकानी भइरहेको हो । सभापति देउवाले पार्टीबाट सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा नेताहरूका सुझाव मागेका छन्।

कांग्रेसमा सभापति देउवासहित १३ जना पदाधिकारी छन । साथै आजको बैठकमा सभापति देउवाले पूर्वपदाधिकारीहरूलाई पनि बोलाएका छन् ।

गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो । मंगलबार बालुवाटारमा भएको सर्वदलीय छलफलमा पनि कांग्रेस नेताहरूले आफूहरू प्रमुख प्रतिपक्षमै बस्ने भए पनि सभामुख तथा राष्ट्रपतिलगायत पदमा छलफल गर्न तयार रहेको बताएका थिए ।

तर सभामुख र राष्ट्रपति दुवै पद नेकपा एमालेले पाउने सत्ता साझेदार दलको बैठकमा सहमति भइसकेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका थिए । सभामुख चयनका लागि आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ भने बिहीबार प्रतिनिधि सभामा सभामुख चयन गरिनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्