वसन्त श्रवणको साइत १०ः४७ बजे, राष्ट्रपति सरस्वती पूजाको शुभकामना दिँदै

जनता अभियान बिहिबार, माघ १२, २०७९

 राष्ट्रपति विद्यादेवी भण्डारीले सरस्वती पूजा नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर भएको बताएकी छन् ।

वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना दिँदै उनले पर्वको माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवम् संवद्र्धन हुने बताएकी छन । उनले शुभकामना सन्देशमा भनेकी छन्, ‘आजको दिन गरिने वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर पनि हो ।’ यस पर्वको माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवम संवद्र्धनका साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन समेत योगदान पुग्ने विश्‍वास लिएको छु ।’

वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा विद्याकी देवी सरस्वतीको हामी सबैमा कृपा रहिरहोस भनी भण्डारीले शुभकामना दिएकी छन । सरस्वतीलाई शिक्षा, ज्ञान, कला र सङ्गीतकी आदिस्रस्टाका रूपमा मानिने परम्परा रहिआएको उनको भनाई छ ।

सरस्वतीको एउटा हातमा रहेको वीणालाई नादको रचना गर्ने यन्त्र मानिएको छ । ब्रम्हाण्डमा नाद अर्थात् ध्वनी मात्र सर्वव्यापक छ । यन्त्र र नादको लयबाट संगीतको रचना भएको वैदिक मान्यता पाइन्छ ।  अर्को हातमा रहेको पुस्तकलाई अक्षरको स्रोत मानिएको छ । क्षय नहुने रचनालाई अक्षर भनिन्छ । लेखिएका कुराहरू कहिल्यै नाश हुँदैनन् भन्ने भावबाट नै मानव सभ्यताले लेख्य भाषाको विकास र परिष्कार गरेको पाइन्छ ।

वसन्त पञ्चमीकै दिन  बालबालिकाहरूलाई घरमै अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने, कला(सङ्गीतका साधकहरूले आफ्ना कुची एवं वाद्ययन्त्रहरूलाई सरस्वतीकै देन मानेर पूजा गर्ने परम्परा विकास भएको सन्देशमा उल्लेख छ ।

वसन्त पञ्चमीको प्राकृतिक महत्व उत्तिकै छ । साहित्यकार र कविहरूका लागि वसन्त आफैंमा नयाँ रङ्ग र फूलहरूको उत्सव हो ।  वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै हिउँदको जाडोबाट क्रमशस् न्यानो हुँदै जाने हुनाले आजको दिनले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ ।

यसैवीच, आज वसन्त पन्चमी भएकाले विगतका वर्षमा झै आज पनि काठमाडौंको हनुमान ढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुसार बिहान १०ः४७ बजे साइत रहेको छ । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने बताइएको छ ।

वसन्त श्रवणमा कवि जयदेवलेरचना गरेको सरस्वतीसम्बन्धि श्लोक पाठ गर्ने प्रचलन छ । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य प्रदेशसभा सददस्यहरुको उपस्थिति हुने जनाइएको छ। वसन्त श्रवणमा राजतन्त्र रहिन्जेल राजा जाने र लोकतन्त्र गणतन्त्र स्थापनापछि राष्ट्राध्यक्षको हैसियतले राष्ट्रपति उपस्थित हुने थालेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्