गृह नपाएको झोंकमा सम्हालिन नसकेका रवि लामिछाने

जनता अभियान सोमबार, माघ २३, २०७९

बसुन्धारास्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय छिर्ने बित्तिकै ‘#आयोरवि’ लेखिएको बोर्ड देखिन्छ । त्यो बोर्डमा रास्वपा पार्टी सभापति रवि लामिछानेले नमस्कार गरेको पूर्ण कदको तस्वीर छ ।

आइतबार त्यही ह्यासट्याग ‘आयोरवि’ लेखिएको बोर्ड पार गर्दै लामिछाने पार्टी कार्यालय छिर्दा उनी सरकारबाट बाहिरिने निर्णय गर्न जाँदै थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएका लामिछाने पार्टी कार्यालय छिर्दा समर्थक र कार्यकर्ताले ‘आयो रविदाइ’ नारा लगाएका थिए ।

१३ माघमा सर्वोच्च अदालतको फैसलासँगै सांसद, गृहमन्त्री तथा पार्टी सभापति पद गुमाएका लामिछानेले त्यसयता लगातार गृहमन्त्रीमा फर्किने कसरत गरेका थिए । पद पाउन बालुवाटारदेखि बालकोटसम्म परिक्रमा गरिरहेका लामिछानेले अनेक प्रयत्नका बाबजुद पनि गुमेको गृहमन्त्री पद फर्काउन सकेनन् । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्रालय फर्काउने उनको अन्तिम कसरत असफल भएपछि उनी निराश भएर पार्टी कार्यालय बसुुन्धारा फर्किएका थिए ।

लामिछानेले गृहमन्त्री नपाउने भएपछि त्यसको मूल्य रास्वपाका अरु मन्त्रीहरुले चुकाउनुपर्‍यो । रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गर्‍यो । घोषणापत्रमा गरेका वाचा गृहमन्त्रालयमार्फत पूरा गर्न सकिने भएकाले आफूले गृहमन्त्रालयमा बढ्ता जोड गरेको लामिछानेको प्रष्टीकरण थियो ।

सांसद पद गुमे पनि आफू गैरसांसद नभएको तर्क गरिरहेका लामिछानेले भने, ‘म गैर सांसद होइन, प्रक्रियागत त्रुटिका कारणले सांसद गएको हो । अस्ति चुनाव जितेर आएको हुँ, यो लजिकले काम गर्ला कि भन्ने मेरो लोभ थियो, झिनो आश थियो ।’

यहाँ कमेन्ट गर्नुहोस्