१९ महिनापछि नाका खुला जोगवनीमा दसैँ किनमेल गर्नेको भिड

विनोद मेहता बिहिबार, आश्विन २१, २०७८

कोरोना महामारीका कारण लामो समय बन्द रहेको विराटनगरको रानी र भान्सार नाका शनिबारदेखि पूर्ण रूपमा खुल्यो । कोरोनाको जोखिम न्युनीकरण गर्न सरकारले बन्द गराएको नाका १९ महिनापछि दसैँछेक खुलेको हो ।

त्यसबीचमा सर्वसाधारणको आवतजावत केही समयअगाडिदेखि नै भइरहेको भएपनि सवारी साधन आवतजावत पूर्ण रूपमा बन्द थियो । हुन त नाका बन्द हुँदा खेतखलियानको बाटो प्रयोग गरेर भएपनि जोगवनी बजार आउजाउ गर्न अवरोध थिएन ।

असोज ११ गते बसेको मन्त्रिपरिषदको बैठकले नाका खोल्ने निर्णय गरेपनि भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई नाका खोल्न आदेश नदिएपछि नाका बन्द नै रहेको थियो । तर विभागको पत्र प्राप्त भएपछि जिल्ला प्रशासनले आवश्यक स्वास्थ्य सावधानी अपनाएर शनिबारबाट लागु हुनेगरी नाका पूर्ण रूपमा सञ्चालनमा ल्याएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले भारतबाट आउने सबै यात्रुलाई नाकामा रहेको स्वास्थ्य डेस्कले स्वास्थ्य सावधानी अपनाउन र ज्वरो जाँच गरेपछि माक्स लगाएर मात्र नेपाल प्रवेशको सुविधा दिने छ । जुन पहिले पनि रानी नाकामा स्वास्थ्य डेस्कमार्फत भइरहेको थियो ।

शनिबारबाट सबै नाका खुलेपछि नेपाल र भारतबाट दुइपाङ्ग्रे, चारपाङ्ग्रे साना र ठूला सवारीसाधनहरू आउजाउ गर्न थालेका छन्् । सँगसँगै १९ महिनापछि रानी–जोगवनी सीमा नाका खुलेपछि पारि गएर दसैंको किनमेल गर्नेहरू पनि बढेका छन्् ।

सीमा क्षेत्रका स्थानीयका अनुसार पहिले हिँडेर नाका पार गरेर जोगवनी बजारमा किनमेल गर्नेको भिड भएपनि शनिबारबाट गाडीनै लिएर पारि दसैँ किनमेल गर्नेहरूको निकै घुँइचो लागेको छ । जसका कारण भारतीय बजार जोगवनीमा ट्राफिक व्यवस्थापनमा कठिनाइ आएको छ । सहज रुपमा यात्रु आवत जावत गर्न थालेपछि अहिले भारतीय रेल्वे स्टेशन र जोगवनी बजारमा नेपालीहरूको भिड लागेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्