प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिको चुनावपछि मात्र भारत भ्रमणमा जाने

जनता अभियान मंगलबार, फाल्गुण ०२, २०७९

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिको चुनावपछि मात्र भारत भ्रमणमा जाने भएका छन ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको भारत भ्रमण यही फेब्रुअरीमा हुने गरी तयारी चलिरहेको थियो । तर, राष्ट्रपतिको चुनावलगायतका विषयले उनको भ्रमण पर धकेलिएको स्रोतले जनाएको छ । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भारत भ्रमणको विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको भारतीय दूतावास स्रोतले जनाएको छ । प्रचण्डसँग क्वात्राले सोमबार भेटवार्ता गरेका थिए ।

स्रोतका अनुसार अहिले नै भारत भ्रमण गराउन सम्भव नहुने देखिएसँगै  राष्ट्रपतिको चुनावपछि मात्र हुने गरी आन्तरिक तयारी थालिएको छ । आगामी २५ गते राष्ट्रपतिको चुनाव हुँदै छ त्यसअघि फागुन १३ मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ । राष्ट्रपतिको उम्मेदवार को बन्ने भनेर राजनीति गर्माएको छ । कतिपयले राष्ट्रपतिको विवादले सत्ता समीकरण फेरबदल हुने आशङ्का समेत गर्दै आएका छन् ।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि फोनमा बधाई तथा शुभकामना दिँदै भारत भ्रमणका लागि निम्तो दिएका थिए । त्यसको दुई तीन दिनपछि प्रधानमन्त्री प्रचण्डले स्वयं आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुनसक्ने बताएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्