वैशाखमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने दाबी

जनता अभियान बिहिबार, फाल्गुण ०४, २०७९

पाठ्यक्रम विकास केन्द्रले आगामी १ वैशाखमा सुरु हुने शैक्षिक सत्रको सुरुमै विद्यार्थीले पाठ्यपुस्तक पाउने दाबी गरेको छ । केन्द्रका सूचना अधिकारी डा. बाबुराम ढुंगानाका अनुसार १५ चैतभित्र पाठ्यपुस्तक छपाइ सकेर वितरकलाई दिइने बताए ।

सरकारले यसवर्ष विद्यालय तहका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक पुर्‍याउन सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रलाई ६ देखि १० सम्मको र निजी प्रकाशकलाई १ देखि ५ सम्मको पुस्तक छफाइ गर्न दिएको थियो । त्यसका लागि १११ वटा प्रकाशक छनोट गरिएको छ ।

सूचना अधिकारी ढुंगाना भन्छन्,  ‘समयमा पाठ्यपुस्तक पुर्‍याउनकै लागि यो निजीसँग साझेदारी गरिएको हो । त्यसैले आगामी शैक्षिक सत्रमा सबै कक्षाका बालबालिकाले शैक्षिक सत्र सुरू हुनअघि पुस्तक पाउँछन् ।’ केही पहाडी जिल्लामा वितरकको लापरबाहीले पाठ्यपुस्तक पुग्न ढिलाइ हुन सक्ने जोखिम भने रहेको ढुंगाना बताउँछन् ।

कक्षा १-५ को एक करोड २० लाख थान र कक्षा ६–१० को एक करोड ५० लाख थान पुस्तक छपाइ गर्नुपर्ने हुन्छ । जनक शिक्षा सामग्री केन्द्रले ८० लाख थान पुस्तक छपाइ सकेर बाइन्डिङसमेत भइसकेको र १० लाख थानको बाइन्डिङ भइरहेको केन्द्रले जनाएको छ । छपाइ गर्न बाँकी ६० लाखको दैनिक डेढ लाखको दरले भइरहेको र १५ चैतभित्र सकिने जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्