संताेष मेहता शुक्रबार, फाल्गुण ०५, २०७९

विराटनगर, । सेवाग्राहीको चाप अत्यधिक हुने विराटनगरको कोसी अस्पतालमा आजदेखि सरसफाई अभियानको थालनी गरिएको छ । फोहोर व्यवस्थापन गर्ने उदेश्यसहित सुरु गरिएको अभियानलाई निरन्तरता दिने योजना छ ।
प्रत्येक साताको शुक्रबार सरसफाई गर्ने गरी अभियानको सुरुवात गरिएको हो । अभियानको अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहलगायतले सुरुवात गर्नु भएको हो ।
अभियानमा अस्पताल विकास समितिका पदाधिकारी, चिकित्सक, कर्मचारी, राष्ट्रिय युवा संघ नेपालमा आवद्ध रहेकाहरु, पूर्वाञ्चल ‘क्लिनिङ’ र परिवर्तनका लागि हातेमालो नाम संस्थाका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।
अस्पताल विकास समितिका सदस्य एवं युवाका संघका नेता मुकेश बुढाथोकीले सबै पक्षलाई जोडेर अभियान सञ्चालन गरिएको जानकारी दिनु भयो । ‘अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सामाजिक अभियन्ता, राजनीतिक पार्टीका जनसंगठनहरु समेतको उपस्थितिमा अस्पताल सरसफाई विशेष अभियानको सुरुवात गरिएको हो,’ उहाँले भन्नु भयो, ‘दैनिक उपचारका लागि ठूलो संख्यामा बिरामी आउने सरकारी अस्पताललाई सधैँ सफा राख्ने उदेश्यसहित सक्रियता बढाइएको छ ।’
जताततै फोहोर थुप्रिदा अस्पताल दुर्गन्धित बन्दै गएको र विभिन्न रोगका संक्रमणसमेत फैलने जोखिम बढेपछि अभियान चलाउनु परेको बुढाथोकीको भनाइ छ । उहाँका अनुसार सरसफाईका क्रममा कुहिने र नकुहिने तथा अस्पतालजन्य फोहोरलाई अलगअलग संकलन गरी व्यवस्थापन गर्ने गरिएको छ ।
साथै हरेक शुक्रबार अस्पतालको प्रत्येक विभागसहित अस्पताल परिषर सरसफाई गरिने छ । सरसफाईको जिम्मेवारी सम्बन्धित विभागलाई समेत दिइएको बुढाथोकीले बताउनु भयो । प्रदेश १ कै ठूलो सरकारी स्वास्थ्य संस्था कोसी अस्पतालमा दैनिक १ हजार ५ सय जनाभन्दा बढी उपचार तथा स्वास्थ्य परीक्षणका लागि पुग्ने गरेका छन् ।