जनता अभियान मंगलबार, फाल्गुण ०९, २०७९

लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई बनाउन प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भेटेर ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन प्रस्ताव राखेको नेता राजेन्द्र महतोले जानकारी दिए । महतोले भने, ‘प्रधानमन्त्रीजीले राष्ट्रपतिमा सहमतिको उम्मेदवार चाहिन्छ भन्नुभएको छ । त्यै सम्बन्धमा हामी प्रधानमन्त्रीलाई भेट्न गएका थियौं । प्रधानमन्त्रीलाई हामीले राष्ट्रपतिको उम्मेदवारी राष्ट्रिय सहमतिको गर्ने राम्रो विचार हो, अहिलेको अवस्थामा राष्ट्रिय सहमतिकै उम्मेदवार उपयुक्त हुन्छ ।
हामीलाई तपाईंको विचार उपयुक्त लागेको छ र यो राष्ट्रिय सहमतिको पात्र महन्थ ठाकुर पनि हुन सक्नुहुन्छ भन्यौं । ठाकुरको नाउँमा सहमति गराउन सजिलो होला कि भनेर हामीले उहाँलाई आग्रह गरेका थियौं ।’प्रधानमन्त्री दाहालले राष्ट्रपतिका लागि ठाकुर पनि उपयुक्त पात्र भएको जवाफ दिएको महतोले बताए ।
‘ठाकुर राष्ट्रिय सहमतिको उम्मेदवार होइन कि उपयुक्त पात्र हो र सबैले भनिरहेको हो भन्ने उहाँको जवाफ थियो । तपाईंहरूले नयाँ कुरा भनिराख्नुभएको होइन, सबैलाई थाहा भएकै कुरा हो भन्नुभएको हो,’ उनले भने ।