विनोद मेहता शनिबार, आश्विन २३, २०७८
भोजपुरको रामप्रसादराई गाउँपालिकामा योजना र कार्यक्रमको कार्यान्वयन प्रगतिबारे सार्वजनिक सुनुवाइ भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन गरेको योजना तथा कार्यक्रमको समीक्षा र आर्थिक वर्ष ०७८/०७९ मा सञ्चालन हुने योजना तथा कार्यक्रमको कार्यान्वयन प्रगतिका सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो ।
शनिबार बिहान १० वजेबाट शुरु भएको उक्त कार्यक्रमको अध्यक्षता रामप्रसादराई गाउँपालिकाको अध्यक्ष विजय राईले गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समितिको उपप्रमुख अनिसा खड्का, विशेष अतिथिको रुपमा जिल्ला समन्वय समितिको सदस्य बाबुराम बन्जाराको उपस्थिति रहेको थियो ।
गाउँ कार्यपालिका पदाधिकारीहरु, स्थानीय राजनैतिक दलका पदाधिकारीहरु, नागरिक समाज, बुद्धिजिवी, स्थानीय भद्रभलादमी, स्थानीय पत्रकार एवम् गाउँ कार्यापालिका र मातहतको निकायमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा गाउँपालिकाको तर्फबाट आ।व। ०७७÷०७८ को योजना तथा कार्यक्रमको प्रगति विवरण, आ।व। ०७८÷०७९ को योजना कार्यक्रमको कार्यान्वयन स्थितिलगायतको विषयमा जानकारी गराउनुको साथै सो सम्बन्धमा छलफल गरिएको थियो ।
गाउँपालिकाले आ।ब। ०७७/०७८ मा पूँजीगततर्फ ६७ प्रतिशत र चालुगत तर्फ ७४ प्रतिशत प्रगति गरेको छ । चालु आ।ब, ०७८/०७९ को योजना तथा कार्यक्रमको कार्यान्वयनको सम्बन्धमा गाउँपालिकाले कार्ययोजना तयार गरी कार्यान्वयन प्रक्रिया अगाडी बढाइ सकेको र उपभोक्ता समिति गठन प्रक्रियामा ढिलाई भएको कारण कार्यान्वनय प्रक्रियाले गति लिन नसकेको व्यहोरा जानकारी गराइएको थियो ।
कार्यक्रममा सहभागीहरुको तर्फबाट विभिन्न जिज्ञासाहरु उठेको र सो सम्बन्धमा कार्यालयका कर्मचारीहरुले जवाफ दिनु भएको थियो । प्रमुख अतिथि, विशेष अतिथि लगायतको वक्ताहरुबाट आगामी दिनमा गाउँपालिकाले अझ राम्रो र प्रभावकारी ढंगले सेवा प्रवाह गर्नुको साथै आमगाउँवासीको मन जित्ने किसिमले काम कारवाही गर्नुपर्ने धारणा व्यक्त हुनुको साथै विभिन्न किसिमका सल्लाह र सुझाव पनि प्रदान गरिएको थियो ।
सोही अवसरमा बडादशै, तिहार र छठपर्वको अवसरमा शुभकामना आदान प्रदान पनि गरिएको थियो । सोही कार्यक्रममा गाउँपालिकाले गरेका केही असल अभ्यासहरुको बारेमा जानकारी गराइनुको साथै गाउँपालिकाको सेवा प्रवाहमा सहयोग पुर्याउने एनआइसी एसिया बैंक, बैकुण्ठे ब्रान्च र प्रहरी चौकी वैकुण्ठेलाई गाउँपालिकाले सम्मान गरेको थियो ।
उक्त अवसरमा गाउँपालिकामा कार्यरत कर्मचारीहरुको कामकारबाहीको उचित मूल्यांकन गरी प्रमुख प्रशासकीय अधिकृत आबुनन्दन मेहताको सिफारिसमा विभिन्न कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो ।