आजदेखि १५ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

जनता अभियान बिहिबार, फाल्गुण ११, २०७९

सरकारले आजदेखि २५ गतेसम्म १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ ।

WOW 250*250

लक्षण नदेखिकाहरुमा पनि हात्तीपाइले रोग लागेको हुन सक्ने भएकाले अभियान चलाइएको बेलामा औषधि खान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासको सुझाव छ ।

हात्तीपाइलेको लक्षण देखिएपछि औषधि खाँदा निको हुँदैन । त्यसैले रोग लाग्नु अगावै औषधि खान डाक्टरको सुझाव छ ।

हात्तीपाइले रोग विरुद्धको औषधि ६ वर्षसम्म लगातार वर्षमा एक पटक गरी ६ पटकसम्म खानु पर्छ । तर, धेरैजसोले हात्तीपाइलेको औषधि नखाने गर्दा रोग देखा पर्ने गरेको छ । धेरैलाई यो औषधि खाएपछि स्वास्थ्य समस्या देखिन्छ भन्ने भ्रम छ ।

डाक्टरले केही व्यक्तिलाई ज्वरो आउने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिए पनि डराउनु नपर्ने भन्दै ढुक्क भएर औषधि खान सुझाव दिएका छन् ।

दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले भने यो औषधि खानु नहुने महाशाखाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्