प्रधानमन्त्रीसमक्ष राप्रपाका मन्त्रीद्धारा राजीनामा

जनता अभियान शनिबार, फाल्गुण १३, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा दिएका छन्।

आज दिउँसो बालुवाटारमा पुगेर उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाउनुभएको हो ।

आज बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेको थियो। राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरिएको छ ।

देशमा बलियो राष्ट्रिय शक्ति निर्माण, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र स्थिरतालाई मूल आधार बनाएर राप्रपा समेतको समर्थनमा वर्तमान सरकार गठन भएको राप्रपाको दाबी छ। राप्रपाले मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको ठहर गरेको छ।

‘शुभेच्छुकहरूको ठूलो पंक्तिको असहमतिका बीच नेपालको निर्णायकत्व नेपालीको हातमा स्थापित गर्दै देशमा बलियो राष्ट्रिय शक्ति निर्माण, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र स्थिरतालाई मूल आधार बनाएर २०७९ पौष १० गते राप्रपा समेतको समर्थनमा वर्तमान सरकार गठन भएको हो।’

यहाँ कमेन्ट गर्नुहोस्