जनता अभियान आइतबार, फाल्गुण १४, २०७९

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुने दाबी गरेका छन् ।
अध्यक्ष नेपालले ८ दलको सहमतिमा प्रस्तावित पौडेल अवश्य पनि राष्ट्रपति बन्ने सबैले आशा गरेको पनि बताए । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पौडेलप्रति लक्षित गर्दै जुनसुकै ओहोदामा पुगेका व्यक्तिहरूले पनि आफ्नो मर्यादाको सम्मान गर्दै राष्ट्र र जनताको हित चिताएर अघि बढ्नुपर्ने कुरामा कटिबद्ध हुनुपर्ने स्पष्ट पारे ।
उनले जनताको चाहनालाई साकार पार्ने गरी अघि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि आग्रह गरे । मुलुक रूपान्तरणको यो महान अभियानमा गम्भीर भएर अघि बढ्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउँदै अध्यक्ष नेपालले त्यसै अभियानलाई साथ दिन ८ राजनीतिक दलहरू एक ठाउँमा उभिने निष्कर्षमा पुगेको समेत बताए ।