जनता अभियान मंगलबार, फाल्गुण १६, २०७९

नेकपा एमालेले कांग्रेस, माओवादीलगायत दलको नयाँ गठबन्धन पनि लामो समय नटिक्ने दाबी गरेको छ ।
माओवादीसँगको गठबन्धन दुई महिनामै भंग भएपछि प्रतिपक्षमा बस्ने घोषणा गरेको एमालेले मन्त्रिपरिषद् विस्तार र त्यसको नेतृत्वका विषयले नै गठबन्धन संकटमा पर्ने ठोकुवा गरेको हो । एमालेले आठदलीय नयाँ गठबन्धन निर्माणसँगै राजनीतिक अस्थिरताको शृंखला सुरु भएको टिप्पणी पनि गरेको छ ।
एमाले उपमहासचिव विष्णु रिमालले भने, ‘अबको राजनीतिक कोर्स सरल छैन । आठ दल भनिएको छ तर केही दल जबर्जस्ती घिसारिएका छन । ३-४ वटा दलको सरकार बनाउन महाभारत छ, ८ दलको सरकार बनाउने कौशलता कसरी देखाउनुहुन्छ, हेर्न बाँकी छ ।’
तीन नेता आलोपालो प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयनमै समस्या आउने उनले दाबी गरे । कांग्रेस सभापति शेरबहादुर देउवाको जतिसक्दो छिटो प्रधानमन्त्री बन्ने चाहनाले पनि गठबन्धनलाई संकटमा पार्ने रिमालको बुझाइ छ । ३२ सिट भएको माओवादीलाई प्रधानमन्त्रीसहित ६ जनालाई मन्त्रिपरिषद्मा लाँदा पनि दाहालले राम्रो मन्त्रालय नपाएको गुनासो गरेको रिमालले सुनाए ।