जनता अभियान मंगलबार, फाल्गुण १६, २०७९

नेपालका अतिसिमान्तकृत माझी समुदायले आज लदी पुजा मनाउँदैछन् ।
लदी पुजा अतिसिमान्तकृत माझी समुदायले मनाउने सबैभन्दा ठूलो पर्व हो । माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ । कोशी पुजालाई माझीहरुले लदी पुजा भन्ने गर्दछन् । हरेक वर्षको फागुन महिनाको तेस्रो मंगलबार माझीहरुले यो पर्व मनाउँदछन् । माझीहरुले तेस्रो मंगलबारलाई साईली मंगलबार भन्दछन । माझीहरुले साईली मंगलबारलाई शुभ दिनको रुपमा लिने गरेको माझी समुदायको जेष्ठ नागरिकहरु बताउँछन् ।
पानी भन्दा अगाडी जन्म भएको किम्वदन्तीमा विश्वास राख्ने माझी समुदायको पुर्खौली थलो कोशी किनारहरु हो । विशेष गरी पानीको पुजा गर्ने भएकाले पनि यो समुदायले कोशी पुजालाई ठूलो पर्वको रुपमा लिने गर्दछन् । लदी पुजाका दिन सामुहिक रुपमा माझीहरुले नजिकैको नदी किनारमा महादेव , मसान , बज्रको साथै ठूलो कोशीको पुजा गर्दछन् । बज्रको पुजा गर्दा घरमा चट्याँगले नहान्ने जनविश्वास रहँदै आएको माझी समुदायहरुको भनाई छ । पुजामा राँगा , बोका , सुँगुर ,कुखुरा , अण्डा लगायतका फुल अक्षताले पुजा गरिने माझी समुदायका पुजारीहरु बताउँछन् ।
सामुहिक रुपमा चेलीबेटी , कुलकुटुम्ब भेला भई भोज खाँदै दुखसुख बाँड्ने प्रचलन रहेको छ । त्यसैगरी पुजामा समुदायको हित हुन सकोस भन्दै प्रकृतिलाई पुजा गर्ने चलन छ । किन्बदन्ती अनुसार माझीको जन्म पछी पानीको जन्म भएको र माछा मार्न दुवाली छेक्दा कोशी नछेकिएपछी रगतको बली दिई माछा मार्न सफल भएको लोककथा रहेको माझी अगुवाहरुको भनाई छ ।
विशेषगरी पूर्वको सुनसरी स्थित सप्तकोशी , सिरहा , सप्तरी , रामेछाप , सिन्धुली , उदयपुरका माझीहरुले विभिन्न नदीहरुमा लदी पुजा गर्ने गरेका छन् ।