जनता अभियान शनिबार, फाल्गुण २०, २०७९

यसपटक अहिले मकैखेती गर्ने बेलामा एकपटक पनि वर्षा हुन सकेको छैन।
वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ हुन थालेपछि उदयपुर जिल्लाका पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बनेका छन्। माघ महिनाको वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको सुरुको हप्तादेखि मकैखेती सुरु गरिन्छ। तर, अहिलेसम्म एकपटक पनि वर्षा नहुँदा खडेरीले मकै लाउन समस्या भएको छ।
मकैखेतीको मौसम सुरु भए पनि एकपटक पनि वर्षा नभएपछि समस्या भएको गुनासो गर्दै रौतामाई गाउँपालिका–२ भुटारका कृषक गोपाल मगर भन्छन्, माघको दोस्रो हप्ताबाट नै खेतबारी जोतियो, मकै छर्ने समयमा पानी आएन। अहिलेसम्म एकपटक पनि सामान्य वर्षा नहुँदा र सुक्खा बारी तथा खेतमा मकै छर्न पर्दा मकैको बिरुवा नै उम्रन कठिन हुने र परिश्रम मात्र खेर गएको उनको भनाइ छ।
विगत वर्षमा पुस वा माघदेखि वसन्त पञ्चमीभित्र दुई–चारपटक वर्षा हुने गरेको कारण जमिन भिज्ने गरेकाले मकैखेती गर्न सहज हुने गरे पनि यसपटक अहिलेसम्म वर्षा भएको छैन। सुक्खा बढ्दै गएकाले खेतीपाती गर्न कठिनाइ भएको लिम्चुङबुङ गाउँपालिका–३ जाँतेका खम्बरराज राईको भनाइ छ।