जनता अभियान शनिबार, फाल्गुण २०, २०७९

जब–जब देशमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखको चयनको प्रक्रिया सुरुवात हुन्छ तब तब लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको नाम चर्चामा आउने गरेको छ । काँग्रेसमा हुँदा उपसभामुखदेखि विभिन्न मन्त्रालय सम्हालेका अध्यक्ष ठाकुरको चाहना पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री वा सभामुख बन्ने नै हो । उनले त्यसका लागि प्रयास पनि गर्दै आएका छन् ।
काँग्रेस छाडेर २०६५ मा मधेस राजनीतिमा आएका अध्यक्ष ठाकुरले मन्त्री बन्ने चाहना कहिले राखेनन्, जबकि उनको पार्टी पटक–पटक सरकारमा गयो । उनको इच्छा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री वा सभामुख बन्ने नै थियो ।
काँग्रेसबाट डा.रामवरण यादव राष्ट्रपति बनेपछि धेरैले भनेका थिए, काँग्रेस नछाडेको भए अहिले राष्ट्रपति महन्थ ठाकुर नै बन्थे । पार्टीमा डा.रामवरण यादवभन्दा महन्थ ठाकुर धेरै नै सिनियर नेता थिए । पार्टी नछाडेको भए रामवरणले पाएका अवसर महन्थले पाउने थिए भन्नेहरू धरै थिए । यो प्रसंग बेलाबेलामा उठ्ने गरेको छ ।
२०६५ पछि पटक–पटक सरकार परिवर्तन हुँदा अध्यक्ष ठाकुरको नाम प्रधानमन्त्रीको रूपमा चर्चामा आउँथ्यो । यद्यपि अध्यक्ष ठाकुरले आफैले त्यसको बारेमा बोलेका छैनन् । उनी निकट नेताहरूले भने उनलाई चर्चामा ल्याउने गर्थे ।
२०७४ मा राष्ट्रपति चयन हुँदा पनि महन्थ ठाकुरको नाम उपराष्ट्रपतिका लागि चर्चामा आएको थियो । तर भागबण्डामा उपराष्ट्रपति माओवादीको भागमा परेको थियो ।