यू–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीको आज बिदाइ

जनता अभियान आइतबार, फाल्गुण २१, २०७९

एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज एन्फा मुख्यालयमा एक कार्यक्रम गर्दै नेपाली यू–२० महिला टोलीलाई बिदाइ गरेको छ ।

समूह (बी) मा रहेको नेपालले छनोटको खेल प्यालेस्टाइनमा खेल्नेछ । नेपाली टोली आज राति त्यसतर्फ प्रस्थान गर्नेछन् । नेपाल रहेको समूह ‘बी’ मा आयोजक प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड छ। छनोटका खेलहरु मार्च ८ देखि १२ सम्म हुनेछ ।

नेपालले पहिलो खेलमा मार्च ८ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ । नेपालले समूहको दोस्रो खेल मार्च १२ मा नर्दन मारियाना आइल्याण्डसँग खेल्नेछ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।

यू–२० महिला एसिया कप छनोटमा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछ । दोस्रो चरणका खेलहरु जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।

सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुने एएफसी यू–२० महिला एसियन कपमा आयोजक उज्वेकिस्तानसहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम सिधै छनोट भइसकेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्