जनता अभियान आइतबार, आश्विन २४, २०७८
प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्युपछि तनावग्रस्त बनेको इनरुवा बजार सामान्य अवस्थामा फर्किएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार मृतकका आफन्त र प्रशासनबीच छलफलपछि अवस्था सामान्य बनेको हो ।
आन्दोलनरत पक्ष र प्रशासनबीच घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गर्ने सहमति भएको उनले बताए । समितिले दिएको सफारिसका आधारमा थप प्रक्रिया अघि बढाइने उनले बताए । उनका अनुसार मृतकको शवको पनि पोष्टमार्टम गरिएको छ ।
‘दिउँसो २ बजेयता अवस्था सामान्य भएको हो’, उनले भने, ‘मृतकको शवको पनि पोष्टमार्टम गरिएको छ । भोलि दाहसंस्कार हुनेछ ।’
सुनसरी भोक्राहाका मोहम्बद हाकिम साह आइतबार बिहान प्रहरी हिरासतभित्र मृत फेला परेका थिए । प्रहरीले लापरवाही गर्दा मृत्यु भएको भन्दै प्रदर्शन भएपछि झडप भएको थियो । झडप हुँदा १४ जना प्रहरी र चार जना प्रदर्शनकारी घाइते भएका थिए । प्रहरीले लापरवाही गर्दा मृत्यु भएको भन्दै प्रदर्शन भएपछि प्रहरीले भिड नियन्त्रण गर्न १२ भन्दा बढी पटक अश्रुग्यास प्रहार गरेको थियो ।
साहले सुनसरी इनरुवा–९ की युवतीसँग प्रेम विवाह गरेका थिए । अन्तरजातीय र अन्तर धार्मिक विवाह गरेका कारण हाकिम र उनकी प्रेमिकालाई परिवारले छुटाएको थियो । युवती पक्षको उजुरीपछि प्रहरीले १३ दिनअघि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।