जनता अभियान बुधबार, फाल्गुण २४, २०७९

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले महिलालाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताएकी छन् ।
मंगलबार राष्ट्रिय महिला आयोगको २१ औँ स्थापना दिवस तथा ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा महिलाहरू चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताइन् ।
“स्थानीय तह, प्रदेशसभा र संघीय संसद् सबै ठाउँमा ५० प्रतिशत उमेदवार पुरुष र ५० प्रतिशत उमेदवार महिला हुनुपर्छ,” उनले भनिन्, “नेपालमा पुरुषको भन्दा महिलाहरूको जनसंख्या बढी छ तर महिलाहरू ३३ प्रतिशत प्रतिनिधित्वमा मात्रै सीमित छन् ।”उपाध्यक्ष अर्यालले राज्यका निकायहरूको प्रमुख पदहरूमा महिलाको प्रतिनिधित्व पनि कम भएको भन्दै प्रमुख पदहरुमा महिला प्रतिनिधित्व गराउनतर्फ ध्यान दिनुपर्ने बताइन् ।