हाल देशका केही स्थानमा वर्षा जारी

जनता अभियान शुक्रबार, चैत्र ०३, २०७९

हाल देशका केही स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका केही स्थानमा हल्का वर्षा भइरहेको हो । अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको छ । महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार आज दिनभरि नै मौसममा बदली हुनेछ ।

उनले आज दिनभरजस्तो बादल लाग्ने भन्दै कतै कतै सामान्य घाम लागे पनि केही बेरमै बादलले छोप्ने जानकारी दिइन । मौसमविद् कँडेलका अनुसार आज काठमाडौंमा दिउँसो १/२ बजेपछि हल्का वर्षाको सम्भावना छ । तर, लामो समयसम्म र ठूलो पानी नपर्ने उनले जानकारी दिइन ।

अबका एक-दुई दिन देशभर मौसममा बदली हुने उनले जानकारी दिइन । देशका केही स्थानमा दिउँसोको समयमा पानी पर्ने सम्भावना बढी हुने उनले बताइन । आज तराईका केही जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको उनले बताइन । उनले आज सामान्य अवस्थामा भन्दा केही बढी हावाहुरी चले पनि ठूलै असर भने नगर्ने उनले स्पष्ट पारिन ।

‘आज तराईमा हावाहुरीको सम्भावना छ, काठमाडौंमा पनि हावाहुरी चल्छ, तर ठूलै असर गर्ने गरी आउँदैन। सामान्य अवस्थामा भन्दा अलि बढी मात्र हो’, उनले भनिन । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ । देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू(भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि शनिबार देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी  भू(भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्