सरकार पुरै पाँच वर्ष चल्छ : निधि

जनता अभियान बुधबार, चैत्र ०८, २०७९

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गठबन्धनको सरकार पाँच वर्ष सम्म टिक्ने दाबी गरेका छन् ।

उनले सरकार टिक्ने नटिक्नेमा शंका नगर्न आग्रह गरेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा मंगलबार मेयर कप खेलकुद प्रतियोगिताको उद्घाटन मन्तव्यका क्रममा उनले यस्तो आग्रह गरेका छन् । वर्तमान सरकार पूरा कार्यकाल टिक्छ, उनले भने–‘तपाइँहरु ढुक्क रहनुहोस् । राजनीतिमा पनि खेलको जस्तै अनुशासन आवश्यक रहको बताउँदै कांग्रेसका पूर्व उपसभापति समेत रहेका निधिले नेकपा (एमाले)ले त्यही अनुशासन र नियम नमानेका कारण सत्ताबाट बाहिरिए ।’ उनले भने–‘एमालेले राजनीतिमा अनुशासनको पालना गर्न नसकेका कारणले नै बाहिरिनु परेको हो ।

नेता निधिले सुरुमा कांग्रेसले पनि केही त्रुटि गरेका कारण प्रतिपक्षमा बस्ने अवस्था आएको भन्दै त्यसका बाबजुद पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै विश्वासको मत दिएर त्रुटि सच्याएको स्पष्ट पारे । प्रनिधिसभाको निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल हुँदा पनि केही त्रुटिका कारण सरकार बनाउने अवस्था रहेन, उनले भने–‘तथापि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर हामीले कोर्स करेक्शन गरेका छौं ।’ सरकार बाहिर बसेर पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिँदा धेरैतिरबाट नकारात्मक टिप्पणी सुन्नु परेको प्रसंग उल्लेख गर्दै नेता निधिले अहिले त्यसको परिणाम सकारात्मक आएको दाबी गरे । नेपाली कांग्रेस पनि वर्तमान सरकारमा सहभागी हुने जानकारीका साथ पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनले तीन/चार दिन भित्रै सरकारले पूर्णता पाउने जानकारी दिए । प्रदेशमा पनि कतै कांग्रेसको नेतृत्वमा त कतै कांग्रेससहितको सहभागितामा सरकार बन्ने उनको कथन थियो ।

कंचनपुर नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ताले नगरपालिकाको तर्फबाट योग्य खेलाडी उत्पादन तथा प्रदेश र देशको खेलकुद स्तर माथि उठाउन विभिन्न योजना बनाएर अघि बढेको र यसै क्रममा पहिलो पटक फुटवल, क्रिकेट, ब्याटमिनटन र क्यारेम बोर्ड लगायतका खेल समावेश गरी प्रथम मेयरकप प्रतियोगिताको आयोजना गरिएको बताए ।

चैत १५ गते सम्म चल्ने प्रतियोगितामा कंचनरुप नगरपालिकाका सबै १२ वटा वडा तथा कर्मचारी र स्वयमसेवक गरी कुल १४ टिम प्रतियोगितामा सहभागी छन् । प्रतियोगिताका विजेता र उपविजेतालाई क्रमशः नगद ५० र ३० हजार तथा ट्रफि प्रदान गरिने छ । कंचनरुप नगरपालिकाको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादव, प्रदेशसभा सदस्य मो.सकिल, पूर्वसंविधानसभा सदस्य सूर्यनाथ यादव, पूर्वप्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादव, पूर्वमन्त्री सत्यनारायण मण्डललगायतले शुभकामना दिएका थिए । प्रतियोगिताको फुटबलतर्फको उद्घाटन खेलमा कर्मचारी ११ ले जनप्रतिनिधि ११ लाई शून्यका बिरुद्ध ३ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्