जनता अभियान सोमबार, आश्विन २५, २०७८
विराटनगरमा अन्तर्राष्ट्रिय बालिका दिवस–२०२१ को अवसरमा डिजिटल जेनेरेसन, आवर जेनेरेसन विषयक अन्तर्क्रिया कार्यक्रम सञ्चालन भएको छ । सोमबार विरापटनगर महानगरपालिका–६ मा भएको उक्त कार्यक्रममा सरोकारवालाहरूले बालिकामाथि हुने हिंसा रोक्न राज्यको भूमिका बलियो हुनुपर्ने बताएका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यायल मोरङकी प्रहरी निरीक्षक एन्जिना राईले बालिकामाथि हुने हिंसा रोक्न परिवारमात्र नभएर राज्यको भूमिका पनि बलियो हुनुपर्ने बताइन् । पछिल्लो समाज प्रविधिमैत्री बन्दा बालिकामाथि हिंसाका घटना बढेको बताउँदै राईले यसका लागि सचेतनामुलक कार्यक्रमका साथै बलियो कानुन ल्याउनुपर्ने बताइन् ।
बालिकामाथि भएको हिंसाको विषयमा पहिले उजुरी वा दर्ता भएपनि पछि मेलमिलाप गरेर परिवार नै पछाडि हट्ने प्रवृत्ति बढेको उल्लेख गर्दै राईले भनिन्, ‘पछिल्लो समय मोबाइल फोनका कारण नग्न भिडियो बाहिर ल्याउनेजस्ता घटना बाहिरिएका छन् । अनि परिवारले उजुरी लिएर प्रहरी कार्यालय आएपनि विवाहको आश्वासन वा केही प्रलोभनमा परेर पछाडि हट्ने प्रवत्ति बढेको छ । यसले त्यो परिवारलाई फाइदा पुगेपनि बालिकालाई मानसिक रुपमा प्रभाव परेको देखिन्छ । यसलाई रोक्न परिवार र राज्य एक हुनुपर्छ ।’
यस्तै, कार्यक्रममा बोल्दै विराटनगर–६ की कार्यवाहक वडाध्यक्ष चम्पा कार्कीले हिंसा घरबाट नै उत्पन्न हुने भएकाले यसलाई रोक्नका लागि परिवारको ठूलो भूमिका हुने बताइन् । त्यसैगरी, उनले प्रविधिका कारण हिंसा बढेको बताउँदै भनिन्, ‘प्रविधि चलाउन नजान्दा महिला तथा बालिका हिंसाको शिकार हुनु परेको छ । हिंसा घरबाटै पनि हुन्छ । सबैले सचेत हुन आवश्यक छ । राज्यले पनि यसबारे सर्वसाधारणलाई जनचेतनामुलक कार्यक्रम गरी सचेत गर्नपर्छ ।’
कार्यक्रममा साप्रसेकेका तीनपैनीकी अध्यक्ष मीना जोशी, कोकनका अध्यक्ष कोषराज न्यौपानेलगायतको सहभागिता थियो ।