आज चैती छठी मनाइँदै

जनता अभियान सोमबार, चैत्र १३, २०७९

चैत शुक्ल चतुर्दशीका दिनदेखि सुरु भई सप्तमीसम्म हुने चैती छठी पर्व अन्र्तगत सोमबार अस्ताउदो सूर्यलाई अर्घ दिइने भएको छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रतालुहरु ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

चैत महिनामा मनाइने हुनाले यसलाई चैती छठ भनिन्छ । तराई र छिमेकी देश भारतमा मात्र मनाउने गरिएको छठ पर्व अहिले पहाडी क्षेत्रमा पनि समेत मनाउने गरिन्छ । सूर्य उपासना गरी मनाइने छठ अर्थात् दिनकर दिनानाथ, छइठ छैठ, छठीआदि नामले मनाइन्छ । चैत शुक्ल पक्ष षष्ठीको दिन छठी माईको पूजाअर्चना गरी पुत्र, पति र परिवारको सुख–शान्तिको कामना गर्ने गरिन्छ । विशेषगरी निसन्तान हुने र छाला रोगीले छठ पूजा माथि बढी अस्था राखेको हुन्छ । पहिला कम संख्यामा चैती छठ मनाइने गरिन्थ्यो तर, अहिले जनकपुरधामका गंगा सागर, अरगजा, दशरथ तलाउ लगायतका घाटमा अत्यधिक भीडभाड देखिने गरिएको छ । “अहिले शहरका पोखरी र नदी फोहर भएको हुनाले घरमै परिवार, छिमेकी र आफन्तलाई बोलाई रातभर जागरण बसी मिलेर छठ मनाउने गर्छु”, जनकपुरधाम उप–महानगरपालिका ४ का वृजनन्दन झाले भने, “समान सबै यहीँ पाउँछ तर गएको वर्षभन्दा चार गुणा समानको दाम महङ्गो भएको छ ।”

यस छठ पर्वको अवसरमा पञ्चमी दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई गहुँको सादा पुरी प्रसादका रूपमा आफू खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ । भोलिपल्ट सप्तमी (पारन) का दिन बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिई पूजा बिसर्जन गरिन्छ । साहित्यकार तथा संस्कृतविद् विनित ठाकुरका अनुसार प्राचीनकालदेखि नै छठ माताको पूजाआइतबारा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । उनले भने, “यो प्रकृति र किसानको पर्व हो । यसमा किसानले जुन नयाँ अन्नबाली उत्पादन गर्छ त्यसको पूजा गरिन्छ ।” यो व्रत गर्नाले छालाको रोग हुने र निसन्तानलाई सन्तान प्राप्ति हुने जनविश्वास गरिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्