टिकटक लाइभमा अश्लील हर्कत देखाउने खोटाङकी हेडमास्टरलाई सोधियो ७२ घन्टे स्पष्टीकरण

जनता अभियान मंगलबार, चैत्र २१, २०७९

खोटाङ जन्तेढुंगा गाउँपालिका-१ को श्री शिक्षा सदन जनता आधारभूत विद्यालयकी हेडमास्टर उमा कट्वाललाई ७२ घन्टाभित्र स्पष्टीकरण बुझाउन पत्र लेखिएको छ।

जन्तेढुंगा गाउँपालिकाले टिकटक लाभमा बसेर नग्न गतिविधि गरेको आरोपमा कट्वाललाई ७२ घन्टाभित्र स्पष्टीकरण बुझाउन पत्र लेखेको हो।

टिकटक लाइभमा बसेर अंगप्रत्यंग देखाउने गरेको व्यापक गुनासो आएपछि उनलाई ७२ घन्टाको अल्टिमेटम दिएरै पत्र लेखिएको गाउँपालिकाकी अध्यक्ष अरुणादेवी राईले बताइन्।

‘शुक्रबार गाउँपालिकाको शिक्षा समितिको बैठक बसेको थियो, आइतबार हामीले ७२ घन्टाको स्पष्टीकरण सोधेका छौं,’ राईले भनिन्, ‘स्पष्टीकरण प्राप्त भइसकेको छैन।’

जवाफ आएपछि उनलाई के कस्तो कारबाहीका लागि सिफारिस गर्ने भन्नेबारे निर्णय हुने उनले बताइन्। कट्वाल स्थायी शिक्षक हुन्। उनलाई कारबाही गर्ने अधिकार गाउँपालिकालाई नभएको राईले बताइन्।

कट्वाललाई यसअघि आफूले एकपटक सम्झाएको पनि राईले बताइन्। ‘उहाँ गाउँपालिकाको शिक्षा शाखामा काम परेर आउनुभएको रहेछ, सभाहलमै टिकटक खोलेर लाइभमा बस्नुभएको थियो,’ उनले भनिन्, ‘त्यतिबेला मैले सम्झाएकी थिएँ।’

जिल्ला विकास तथा समन्वय इकाई खोटाङका प्रमुख नन्द विकका अनुसार कट्वालले गरिरहेको गतिविधिबारे जानकारी छ। यस्तो प्रकरणमा सम्बन्धित पालिका, वडा कार्यालय वा विद्यालय व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालयलाई चिठी लेख्न सक्छन्।

जिल्ला प्रशासन कार्यालयले इकाइमा लेखेपछि के-कस्तो कारबाही गर्ने भन्नेबारे टुंगो लाग्छ। ‘ऐनमा निलम्बनलगायतका कारबाही छन्,’ विकले भने।

यहाँ कमेन्ट गर्नुहोस्