कोशीको नामलाई लिएर प्रचण्डलाई ज्ञापन पत्र

जनता अभियान शुक्रबार, चैत्र २४, २०७९

पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै माओवादी केन्द्र निकट मोर्चाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले कोशी प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने भन्दै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका हुन्। प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।

त्यस्तै ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न अनुरोध गरिएको माओवादी नेता सुरेश कुमार राईले जानकारी दिए। षडयन्त्रपूर्वक ढंगले प्रदेश १ मा कोशी नामाङ्करण भएको भन्दै त्यसलाई सच्चाउनुपर्ने उनको भनाइ छ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले पहिचानका निम्ती माओवादी लड्दै आएकाले पहिचानमा आधारमा नामाङ्करण गर्न पहल गर्ने आश्वासन दिएको राईले बताए।

त्यस्तै पहिचानका मुद्धालाई माओवादीले नछोड्ने धारणा प्रधानमन्त्रीले राखेको उनले जानकारी दिए। त्यस्तै आफ्ना आन्दोलनलाई संयमताका साथ अघि बढाउन पनि प्रचण्डले निर्देशन दिएको राईले बताए।

यहाँ कमेन्ट गर्नुहोस्