२० हजार रुपैयाँ घुससहित विराटनगरबाट एकजना इन्जिनियर पक्राउ

जनता अभियान सोमबार, चैत्र २७, २०७९

२० हजार रुपैयाँ घुससहित विराटनगरबाट एकजना इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीको बर्जु गाउँपालिकामा कार्यरत इन्जिनियर अजय मेहतालाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता भोला दाहालका अनुसार घर नक्सा पासको लागि सेवाग्राहीबाट घुस लिएको अवस्थामा मेहतालाई पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिकास्थित पुलचोकबाट सोमबार नियन्त्रणमा लिएको हो ।

घरको नापनक्सा पास गरिदिने भन्दै सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएका मेहता घुससहित पक्राउ परेका हुन् । घुससहित पक्राउ परेका मेहतालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।

सुनसरीको देवानगञ्ज घर भएका मेहता छैटौँ तहका कर्मचारी हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्