विनोद मेहता शुक्रबार, बैशाख ०१, २०८०

विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भएको एक महिना बित्न लाग्यो। यसबीचमा निर्वाचितहरू विद्यार्थीका समस्याबारे गहिरो रूपमा जानकार छैनन्।
विद्यार्थीको समस्या सोधीखोजी गरेर निराकरणतिर लाग्नु त कता हो कता उल्टै समस्याको चाङ बढ्यो भनेर गुनासो गर्न आउने विद्यार्थी स्ववियुमा निर्वाचित प्रतिनिधिबाट कुटिएका छन्। स्ववियु निर्वाचन सम्पन्न भएको २२ दिन पुग्दा पनि विद्यार्थीको समस्या निराकरणमा चासो नदिइएको भन्दै आउने विद्यार्थी सचिव सनिम ठकुरीबाट कुटिएका हुन्।
स्ववियुले केही नगरेको भन्दै कार्यालयमा तालाबन्दी गर्ने क्रममा दोहोरो भनाभन हुँदा सोनु शर्मामाथि सचिव ठकुरीले हातपात गरेका हुन्। हातपात गरेको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै अलिख नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका इकाई अध्यक्ष कमल ओझाले विज्ञप्ती जारी गरेका छन्। उनले क्याम्पसमा गुण्डागर्दी शैली मौलाएको भन्दै सार्वजानिक र लिखित् माफी माग्नुपर्ने माग गरेका छन् ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका इकाई अध्यक्ष तथा स्ववियुका सचिव रहेका ठकुरीले एक महिना बित्न नपाउँदै विद्यार्थीमाथि हातपात गरेको भन्दै विद्यार्थी माझ आलोचना बढेको छ।
अनेरास्ववियुका एक विद्यार्थी नेताले ठकुरी नेबिसंघसँग सेटिङमा जितेर आएकाले अहिले मनपरी गर्ने काममा सक्रिय रहेको आरोप लगाएका छन्। उनले संगठनबाट स्ववियुमा निर्वाचित भएर विद्यार्थीमाथि गुडागर्दी शैलीमा हातपात गर्न उत्रिएको विषय छलफलमा ल्याउने बताएका छन्।
विद्यार्थीले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्न पाउनु पर्ने भएपनि त्यसलाई निस्तेज गर्ने शैली अपनाउँदा क्याम्पसको वातावरण बिग्रने बताएका छन्। पीडित भएका विद्यार्थी सोनु शर्माले आफ्ना माग लिएर स्ववियुमा जाँदा निर्वाचित सचिवले कुटपिट गरेको बताए।
उनले स्ववियुले विद्यार्थीको पक्षमा काम गर्नुपर्ने बताए। निर्वाचित भएको २२ दिन पुग्दासम्म विद्यार्थी नेतृत्व छ भन्ने कुनै आभास नभएको बताएका छन्।