जनता अभियान मंगलबार, बैशाख ०५, २०८०

मिटर ब्याज पीडितहरुमाथि भएको बल प्रयोगबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको हो । सोमबार शान्ति बाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको थियो ।
उनका अनुसार मिटर ब्याज पीडितहरु बसेको स्थानमा बाँसको भाटा तथा इटा जम्मा भएको देखेपछि प्रहरीले सतर्कता अपानाएको बताए । त्यसक्रममा प्रहरीले गेट लगाएको र भित्रबाट इँटा प्रहार भएपछि दुखद घटना भएको श्रेष्ठले बताए ।
घटनामा प्रहरी टोलीको नेतृत्व गरेका डीएसपी गम्भीर घाइते भएको र घाइते मिटर ब्याज पीडितहरुलाई पनि आफूले भेटेको उनले बताए । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भने, ‘यो दुघद घटना हो, अब आइन्दा यस्तो घटना नहोस्, प्रहरी प्रशासनले संयमता अपनाओस् भनेका छौं ।’
मिटर ब्याज पीडितहरुलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले बताए ।
सरकारले आयोग बनाउनुका साथै कानुन संशोधन गर्ने निर्णय गरिसकेको भन्दै उनले भने, ‘ जनजागरण अभियान गरेर बल पुर्याउनु भएको छ, यसको निम्ति धन्यवाद । तर अनावश्यक रुपमा पीडितहरुलाई दुख दिने काम कसैले पनि नगरौं भन्ने अपील पनि गर्न चाहन्छु ।’