दाङका किसानलाई चैते धान रोप्ने चटारो

जनता अभियान बुधबार, बैशाख ०६, २०८०

चैत–वैशाखको खडेरीको समयमा देशका धेरै किसान खेती लगाउन आकाशे पानी पर्खिरहेका छन् । तर दाङका केही पहाडी भोगका किसानलाई भने यतिबेला चैते धान रोप्ने चटारो छ ।

यो खडेरीकाबीच बंगलाचुली गाउँपालिका–४ गहतेरा किसान गोपाल घर्ती मगरलाई भने खेतमै भ्याइ नभ्याई छ । उनी र उनको परिवार अहिले चैते धान रोप्न जुटेका छन् । पाँच कट्ठा खेतमा उनी अहिले जोत्ने, पानी मिलाउने, व्याड काट्ने र धान रोप्नमै व्यस्त छन् ।

‘खोला नजिकै भएकाले चैते धानका लागि पानीको समस्या छैन’, उनले भने, ‘उत्पादन पनि राम्रै हुने भएकाले हरेक वर्ष धान रोप्छौं ।’

गहतेराकै डोरबहादुर घर्तीमगर पनि २० वर्षदेखि चैते धानको खेती गर्दै आएका छन् । यो वर्ष पनि उनी १४ कट्ठा खेतमा चैते धान रोपाइँ गर्दैछन् । ‘कम जमिनमा पनि उत्पादन धेरै हुने भएकाले चैते धान रोप्छु’, उनले भने ।

उनका अनुसार फागुनमा ब्याड राखेर चैतको अन्तिमसम्म चैते धान रोपिन्छ । घर्तीेले भने ‘तर यो वर्ष केही ढिला भयो ।’ उनले चैते र बर्खे धान गरेर बर्षमा दुई बाली धान खेती गर्ने बताए । ‘बर्खे धानभन्दा चैते धान राम्रो उत्पादन हुन्छ’ घर्तीले भने, ‘चैतको अन्यवाली नहुँने हुँदा रोपाइँमा सजिलो हुन्छ ।’

दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४, घोराही उपमहानगरपालिका वडा नं. १ र देउखुरीका केही ठाउँमा किसानले चैते धान रोप्ने गरेका छन् । खडेरीमा सिँचाइको राम्रो सुविधा भएको खेतमा मात्र चैते धान रोप्न सकिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्