गहुँको विषयमा विवाद, गाउँपालिकामा तालाबन्दी

विनोद मेहता बुधबार, बैशाख ०६, २०८०

गहुँको विषय भएको विवादका कारण सुनसरीको देवानगन्ज गाउँपालिकामा तालाबन्दी गरिएको छ। स्थानीय व्यापारीले बुधबार बिहान गाउँपालिकाको कार्यालयअगाडि नाराबाजी गर्दै तालाबन्दी गरेपछि सेवाग्राहीले सास्ती भोग्नु परेको छ।

इलाका प्रहरी कार्यालय, देवानगन्जले नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत सुनसरीको देवानगन्ज गाउँपालिका–३ बाट स्थानीय भागवत मेहताको एक सय बोरा गहुँ बरामद गरेको थियो।

प्रदेश १–०४–००१ त ७१५ नम्बरको ट्याक्टरमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा राति आठ बजेतिर पाँच हजार चार सय एक किलो गहुँ बरामद गरिएको प्रहरीले जनाएको छ।

भन्सार छली गरेर भारतबाट गहुँ भित्र्याइएको सूचना आएपछि नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीलाई देख्नासाथ गहुँ तस्करीमा संलग्नहरू ट्याक्टर छाडेर फरार बनेको प्रहरीको भनाइ छ। ट्याक्टरसहित गहुँ १५ लाख १६ हजार ४० रूपैयाँ बराबरको रहेको प्रहरीको आँकलन छ।

तर, गोदाम घरबाट निकाल्दै गर्दा प्रहरीले बदनियत राखेर गहुँ जफत गरिएको व्यापारी मेहताले दाबी गरेका छन्।

व्यापारीले बुधबार दिनभर सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए। गाउँपालिकाका कर्मचारीलाई भित्रै थुनेर प्रवेशद्वारमा आन्दोलनकारीले ताल्चा लगाइदिएका थिए।

जसकारण बटुवामात्र नभएर गाउँपालिकामा सेवा लिन आएका सेवाग्राहीले पनि सास्ती बेहोर्नुपरेको थियो।

इलाका प्रहरी कार्यालय, देवानगन्जले बरामद भएको गहुँ जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्