कर्सियाको सिटिजन बैंक लुट्ने समुहका ३ जना प्रहरीद्वारा सार्वजनिक

विनोद मेहता बुधबार, आश्विन २७, २०७८

विराटनगर २७ असोज । मोरङको धनपालथान गाउँपालिका कर्सियास्थित सिटिजन बैंकमा डकैतीगर्ने समुहका ३ जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले सो घटना संलग्न रहेको अभियोगमा २ जना भारतीय सहित १ जना नेपालीलाई पक्राउगरि सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका अभियुक्तहरुमा विराटनगर ८ का ३२ बर्षिय श्याम मुखिया,भारत अररिया सेखपुरा ५ का २८ बर्षिय सुनिल यादव र भारत अररियाकै गोराहा ४ का ३० बर्षिय बिजय सहनी रहेका छन । बैंक डकैती भएकैदिन मोरङ प्रहरीले उनिहरुलाई भाग्दाभाग्दै भारतीय सिमाक्षेत्र धनपालथान गाउँपालिकाको वडानम्बर २ खयरबन्नाबाट पक्राउ गरेको थियो । पौने चारबजे बैंक डकैती गरि भाग्ने क्रममा १५ मिनेटपछि तीनजनालाई घटनास्थलबाट ६ किलोमिटर दक्षिणबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसिले बताउनुभयो । अभियुक्तलाई सार्वजनिक गर्ने क्रममा प्रहरीले अभियुक्तहरुले घटनामा प्रयोग गरेको पेस्तोल र त्यसमा लाग्ने गोलीहरु र को २५ प ३८९९ नम्बरको पल्सर मोटरसाइकल समेत सार्वजनिक गरेको छ ।

असोज २५ गते ८ जनाको समुह कर्सियाको सिटिजन बैंक लुट्न पुगेकोमा ७ जना बैंक भित्र प्रवेश गरेको र १ जना बाहिर ढुकेर बसेको एसपी जिसिले बताउनुभयो । बैंकमा पस्नुअघि निकैबेरसम्म अभियुक्तहरुले रेकी गरेको तथा बैंकमा ग्राहकको भीड कम भएपछि र नजिकै रहेको प्रहरी भ्यान समेत अर्कै घटना नियन्त्रणगर्न पुर्वतर्फ लागेपछि अभियुक्तहरुको समुह बैंकमा पसेर लुटपाट मच्चाएको एसपी जिसिले बताउनुभयो ।

उक्त घटनामा विराटनगर ८ का श्याम मुखिया र भारत अररियाका अभियुक्त बिजय सहनी मुख्य योजनाकार रहेको एसपी जिसिले बताउनुभयो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको र संलग्न अन्यको खोजतलास भइरहेको उहाँले बताउनुभयो । बैंक डकैतीको सो घटनामा गोलीलागि घाइते भएका बैंकका सुरक्षा गार्ड रंगेली नगरपालिका २ बस्ने ४० बर्षिय शितल कुमाल हाल खतरा मुक्त अवस्थामा उपचाररत रहेको समेत पत्रकार सम्मेलनमा बताइएको थियो । घटनामा २१ लाख बढी लुटपाट भएको भनिएपनि आफुहरुलाई हालसम्म बैंकले लिखित जानकारी नपठाइसकेको एसपी जिसिले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्