२ करोड ३३ लाख बराबरको कोकिनसहित दुई विदेशी पक्राउ

जनता अभियान बिहिबार, बैशाख ०७, २०८०

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ब्युरोले लागुऔषध कोकिन १ किलो ८० ग्रामसहित भारतीय नागरिक रविन्द्र कुमार र केन्याका नागरिक पिलिसिया वान्जालाई पक्राउ गरेको जनाएको हो।

काठमाडौं वडा नम्बर १७ मा रहेको एक होटलमा रहेका भारतीय नागरिकको साथमा रहेको कालो रंगको कपडाको झोलाभित्र लागुऔषध कोकिन फेला परेको र घटनाको थप अनुसन्धान गर्दा इथोपियाबाट काठमाडौंसम्म ल्याई भारतीय नागरिकलाई कोकिन दिने केन्याका नागरिक पक्राउ गरिएको प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए।

उनलाई एक हजार अमेरिकी डलरसहित अर्को होटलबाट पक्राउ गरिएको जोशीले बताए।

बरामद लागुऔषध कोकिनको अन्दाजी अवैध बजार मूल्य दुई करोड ३३ लाख रहेको उनले बताए।

काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी विदेशी नागरिकमाथि अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्