सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानमा सरकारले फेरि कडाइ गर्ने भएको छ ।

पटक-पटक छलफल र निर्णय भएर पनि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य पूर्ण कार्यान्वयन हुन सकेको छैन । तर सरकारले नम्बर प्लेटमा आधा नेपाली र आधा अंग्रेजी भाषा राख्ने गरी तयारी थालेको हो । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लिखित जवाफ पर्खिरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

नम्बर प्लेटको भाषामा विरोध भएपछि गत चैतमा बसेको मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था ऐन ०४९ को अनुसूची २ लाई सच्याएर नेपालीमा पनि लेख्न पाउने निर्णय गरेको थियो । बैठकले नेपाली र अंग्रेजी दुवै भाषा प्रयोग गर्न सकिने निर्णय भएको छ । योसँगै इम्बोस्ड नम्बर प्लेट जडान गर्नेबारे तयारी अघि बढेको यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले सरकारले इम्बोस्ड नम्बर राख्नेबारे गरेको निर्णय राजपत्रमा प्रकाशित गरेपछि कडाइका साथ कार्यान्वयनतर्फ लागिने बताए ।

देशभर सबैखाले गरेर ५० लाख सवारीसाधन छन । त्यसमध्ये ५० हजार हाराहारी सवारीसाधनमा इम्बोस्ट नम्बर प्लेट जडान भइसकेको छ । जडान भइसकेकामध्ये १५ हजारभन्दा बढी सरकारी नम्बर प्लेटका सवारीसाधन र अन्य निजी रहेको विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट जडान गर्दा झन्झट भोग्नुपर्ने र चर्को शुल्क तिर्नुपर्ने भन्दै विरोध आइरहेको छ । तर, मुख्य विरोध भाषागत रूपमा भएको भन्दै ऐन संशोधन भइसकेकाले कार्यान्वयनमा जान सकिने विभागले जनाएको छ ।

सरकारले तोकेको शुल्कअनुसार चारपांग्रे ठूला सवारीमा इम्बोस्ड प्लेट राख्न ३ हजार ६ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । दुईपांग्रेका लागि २ हजार ५ सय, टेम्पोलगायत तीनपांग्रे साना सवारीका लागि २ हजार ९ सय, कार–जिप–भ्यान, ट्याक्टरलगायत सवारीसाधनमा इम्बोस्ट नम्बर प्लेट जडान गर्दा ३ हजार २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ  ।