नगर भन्दा जेठो बस्तीमा डोजर, विस्थापितलाई बासको चिन्ता

जनता अभियान शुक्रबार, बैशाख ०८, २०८०

सुनसरीको दुहबी नगरपालिकाले नगरपालिका भन्दा पुरानो बस्ती डोजर प्रयोग गरेर खाली गरेको छ । पालिकाले आफ्नो नाममा रहेको जग्गामा बसेको बस्ती खाली गराएको हो ।

बस्ती खाली गराएछि विपन्न समुदायको बिचल्ली भएको छ । दुहबी नगरपालिका– ५ की लक्ष्मीदेवी परियार कान्छी छोरीको उपचारका लागि ३ बैशाखयता विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छिन् ।  छोरीको शल्यक्रिया सफल भयो, अस्पतालले  डिस्चार्ज दिदैछ । आइतबर घरमा चाबी लगाएर अस्पताल गएकी लक्ष्मीसँग न छोरीलाई राख्ने घर नै छ, न पकाउने भाडाकुडा र अन्नपात नै ।

दुहबी नगरपालिकाले एक्कासी आफ्नो नाममा भएको जग्गामा रहेको बस्ती हटाउने क्रममा घर भत्काएपछि उनले अस्पताल लैजादा लगेका सामान बाहेक सबै गुमाएकी छन् । नगरपालिकाको डोजरले उनको दुई कोठे घरसँगै साचेर राखेका सपना पनि भत्त्काएको छ ।

नगरपालिकाले एक्कासी डोजर चलाउँदा २०११ सालमा बसेको बस्तीका ९० परिवार बिस्थापित भएका छन् । ९० परिवार मध्ये केहीको घर अन्यन्त्र थियो, घर नहुनेहरु सडक र भाडाको कोठामा पुगेका छन् ।

‘म त एकल महिला, विरामी छोरीको अप्रेशनका लागि अस्पताल लिएर आएकी थिए,’ लक्ष्मीले भनिन्,‘ दुःख गरेर गुजारा गर्दैथे, नगरपालिकाले सडकमा ल्याइदियो ।’

अस्पतालबाट डिस्चार्ज भएपछि  छोरीलाई कहाँ राख्ने भन्ने उनलाई चिन्ता छ । ‘एउटा सानो दुई कोठे घर थियो, त्यो पनि नगरपालिकाले भत्कायो,’ उनले भनिन्,‘ विरामी छोरीलाई लिएर कहाँ जाउ,  न घर छ, न त पकाउने भाडाकुडा नै ।’

नगरपालिकाले सूचना नदिई एक्कासी डोजर चलाएका कारण सर्वस्व गुमेको उनले बताइन् । उनले भनिन्,‘ सूचना दिएको  भए सामान निकाल्थे, अब कहाँ जाउ, कसरी बसौं ।’
दुहबी नगरपालिकाले दुई घण्टाको सूचना दिएर बस्तीमा डोजर चलाएको थियो । स्थानीयले सामान सार्नका लागि दुई दिनको समय माग्दा नदिएको पालिकाले माइकिङ  गरेलगतै जवरजस्ती डोजर चलाउदा आफ्ना सामान सार्न दुई दिनको समय मागेका स्थानीय हेरेको हे¥यै भए । बस्तीमा  रुवाबासी मच्चियो । डोजर चल्दा घरमा भएकाहरुले हतार हतार आफ्ना सामान निकाले, घरमा नभएकाहरुको घरसँगै सामान पनि नगरपालिकाको डोजरले भत्कायो ।

स्थानीय इन्दीरा अर्याल र पुड्की चौधरीले पनि आफ्नो घरको सबै सामान निकाल्न पाएनन् । घरको सामान निकाल्दै गर्दा डोजरले घर भत्काएपछि निकाल्न नपाएको चौधरीले गुनासो गरिन् । उनी छिमेकीको सरणमा छिन् ।

इन्दीरा दुई दिनदेखि सडकमा बसिरहेकी छन्, सानो नाती र बुहारीका लागि एउटा कोठा खोजेर राखेकी छन् । ‘तीन पुस्तादेखि यहाँ बसिरहेका छौं, एक्कासी सूचना बिना यसरी भत्काउन पाइन्छ,’ इन्दीराले रुदै भनिन्,‘ आफ्नो सामान निकाल्छु भन्दा पनि दिएनन् ।’

नगरपालिकाले घर भत्काएपछि विस्थापित भएका कृष्ण योन्जन पूर्व जनप्रतिनिधि हुन् । नगरपालिकाका मेयर बेदनारायण गच्छदारले पूर्वाग्रह राखेर बस्ती खाली गराएको गुनासो गर्छन् । नगरपालिकाले समय नदिदा घरसँगै सामान सामान पनि पुरिएको उनले बताए ।

नगरपालिकाले घर भत्काएपछि  आफ्नो सामान निकाल्न नपाएको भक्तीश्वरी राईले गुनासो गरिन् । नगरपालिकाले बिस्थापित गरेपछि दुई  दिनयता सडकमा बसिरहेकी छन् । उनले पनि घरका सबै सामान निकाल्न नपाएको गुनासो गरिन् ।

उनीहरुको घर भएको स्थानमा बिहीबार दिउँसो पनि डोजर चलिरहेको थियो ।  नगरपालिकाले स्थानीइलाई भत्किएको ठाउँबाट सामान नकिाल्न उर्दी जारी गरेको छ । अन्यन्त्रबाट आएकाहरुले  डोजरले खन्दा निकालेका सामाग्री संकलन गरेर लगिरहेका थिए । स्थानीय दर्शन राई विस्थापितका सामानहरु बाहिरबाट आएकाहरुले संकलन गरेर लगिरहेको गुनासो गछर्न् ।

घरको सामान निकाल्न पनि नदिएपछि बिस्थापित भएकाहरु मेयर बेदनारायण गच्छदारसँग आक्रोशित छन् । सामान सार्नका लागि दुई दिनको समय माग्दा ३० सेकेन्ड पनि समय दिन्न भन्दै मेयरले अभद्र  शैली देखाएको स्थानीय बताउँछन् ।  ‘हामीले नै भोट हालेर जिताएको हो, आज हामीमाथि नै अन्याय गरे,’ स्थानीय अर्यालले भनिन्,‘ आफ्नो घर भित्रको सामान निकाल्न पनि दिएनन् ।’   राम्रो गर्छन् भनेर जिताएको मेयरले घर न घाटको बनाएर  रुपाएको उनले बताइन् । उनले भनिन्,‘  मेयरलाई गरिबको आशु लाग्छ,’

नगरपालिकाले हटाएको बस्तीका केही व्यक्तीले बाहिर घर बनाएर बस्तीको घर भाडामा लगाएका थिए  । ‘बजारपट्टीका घरका सटर भाडामा थिए, भित्र पट्टी त सानो सानो छाप्राहरु थिए,’ पूर्व वडा सदस्य योन्जन भन्छन्,‘ घर भएकाहरु त आफ्नो घरमा गएर बसे, नभएकाहरुलाई धेरै गाह्रो भयो ।’

यहाँ कमेन्ट गर्नुहोस्