जनता अभियान आइतबार, बैशाख १०, २०८०

प्रतिनिधिसभा उपनिर्वाचन सम्पन्न भएको छ।
बारा जिल्ला निर्वाचन क्षेत्र नं. २, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन सम्पन्न भएको हो।
मतदानको प्रारम्भिक विवरण आइपुगेको छ। हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करिब ६० प्रतिशत मतदान भएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद आर्यालले बताए।
जसअनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६४ प्रतिशत मत खसेको छ।
चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा ५३ प्रतिशत मतदान भएको छ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो।
यस निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार २४७ मतदाता रहेका थिए।
मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८:०० बजेभित्र, चितवन जिल्ला क्षेत्र नं. २ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य संघको हल, भरतपुरमा राति १०:०० बजेभित्र र तनहुँ निर्वाचन क्षेत्र नं. १ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११:०० बजेभित्र ढुवानी भइसक्ने गरी व्यवस्था मिलाइएको छ।
‘सर्वदलीय बैठक बसी आइतबार रातिबाटै मतगणना सुरू गरिने छ,’ अर्यालले भने।
मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिने अर्यालले बताए।