जनता अभियान शनिबार, बैशाख १६, २०८०

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उमेर ढलिसकेका नेताहरूलाई सन्यास लिन जरुरी रहेको बताएका छन्।
शुक्रबार जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले ७० कटिसकेका नेताहरूलाई सन्यास लिई युवापुस्तालाई नेतृत्व दिनुपर्ने बताउँदै अब आउँदो महाधिवेशनबाट आफू पनि राजनीतिबाट सन्यास लिने बताए।
पूर्वप्रधानमन्त्री नेपालले उपनिर्वाचनको मतपरिणामले मुख्य राजनीतिक दलको कार्यदिशा तथा विचारमा परिमार्जन गर्नका लागि जनताले ठूलो सन्देश दिएको बताउँदै मुख्य राजनीतिक दलहरूले आफूभित्रको कमी कमजोरीलाई सच्याएर जनताको भावना अनुसार अगाडि बढ्न जरुरी रहेको बताए।
उनले राजनीतिमा गुण्डातन्त्र हावी भएको भन्दै अहिले राजनीतिक दलका नेताहरूमाथि गम्भीर प्रश्न उठेको बताए। उनले पीडामा परेका जनतालाई सहयोग गर्दै विकास निर्माणमा गति, गुणस्तरीयता, अन्याय अत्याचार गर्नेहरूमाथि अकुंश लगाउन सबै दलहरू अगाडि आउन आवश्यक भएको बताए।
नेपालले दुई तिहाइको कम्युनिष्ट सरकार केपी ओलीको महत्वकांक्षाका कारण क्षति भएको आरोप लगाउँदै पार्टीभित्रको अन्तरविरोधको सम्बोधन नभएका कारणले नै जनताले दिएको अवसरलाई सदुपयोग गर्न नसकेको बताए।