नागरिकता नभएका युवाहरु सडकमा

जनता अभियान आइतबार, बैशाख १७, २०८०

नागरिकता नपाएका युवाहरुले विराटनगरमा  अनिश्चितकालिन धर्ना  सुरु गरेका छन् । जन्मसिद्धका आधारमा नागरिकता बनाएकाहरुको सन्तानले नागरिकता बनाउन पाएका छैनन् । ऐन नबनेका कारण समस्यामा परेकाहरुले नागरिकता सम्बन्धि  कानुनको माग गर्दै विराटनगरमा  भर्ना  सुरु गरेका हुन् ।

विराटनगर महानगरपालिका– १२ की मलिना मण्डलले २०७४ सालमा सैलेजा आचार्य मेमोरियल पोलिटेक्निक इन्सिस्ट्युटबाट नर्सिङ पास गरिन । परीक्षा पास गरेपनि नागरिकता नभएका कारण उनले लाइसेन्स पाइनन् । ‘नागरिकता नहुँदा लाइसेन्स पाइन्,  उनले भनिन् ,‘लाइसेन्स नभई काम गर्न पाइदैन् ।’ उनका बुबा हरिदेव मण्डलको नागरिकता जन्मसिद्धका आधारमा बनेको छ । जन्मसिद्ध नागरिकता भएका कारण छोरी मलिनाले नागरिकता बनाउन पाएकी छैनन् ।

विराटनगर महानगरपालिका– ८  का सागर विश्वासको घरमा तीन दिन अघि नेपाल विद्युत प्राधिकरणले बिल नतिरेको भन्दै लाइन काटिदियो । प्राधिकरणले काटेको विजुली उनले जोड्न सकेका छैनन् । ‘नागरिकता नहुँदा हातमा आएको जागिर पनि गयो, अस्ती बिजुली काटियो, अहिलेसम्म जोड्न पाएको छैन,’ उनले भने,‘ नागरिकता भएको भए, काम गर्थे, विदेश जान पाउने ।’

नागरिकता नहुँदा दैनिक कष्टकर बनेको उनले बताए । ‘२५ हजार रुपैयाँ तिर्न नसक्दा अस्ती विहान ६ बजे बिजुलीको लाइन काटियो,’ उनले भने,‘ काम गर्न सक्छु तर नागरिकता नहुँदा जागिर पाएको छैन ।’ नागरिकतालाई नेताहरुले राजनीतिक मुद्दा बनाउँदा आफ्नो दैनिक कष्टकर बनिरहेको उनले बताए ।

जहदा गाउँपालिका– ३ का   रञ्जित साहले २०७७ सालमा कृषि प्राविधिक विषयमा डिप्लोमा पास गरे । परीक्षा पास गरेपनि उनले सर्टिफिकेट पाएका छैनन् । कलेज प्रशासनले नागरिकता मागेपछि सर्टिफिकेट निकाल्न नपाएको उनले बताए ।

उनको आमाको नागरिकता बंशज छ, बुबाको नाागरिकता जन्मसिद्ध छ । बुबाको जन्मसिद्ध नागरिकता भएका कारण उनले नागरिकता बनाउन नपाएका हुन् । ‘नागरिकता दिनुपर्ने हो, तर  अहिले मिल्दैन भन्दै  फर्काउछन्,’ उनले भने,‘ नागरिकता नहुँदा लोकसेवा भिड्न पाएको छैन ।’

रतुवामाई नगरपालिकाका  मञ्जित साह चार पटक नागरिकता बनाउनका लागि इलाका  प्रशासन कार्यालय रंगेली पुगिसके । तर उनलाई प्रशसाले अहिले मिल्दैन भन्दै फकाइरहेको छ ।
बुबाको जन्मसिद्ध नागरिकता भएका कारण उनले नागरिकता नपाएका हुन् । ‘नागरिकता नहुँदा कति धेरै समस्या भोगे,’ उनले भने,‘ नागरिकता नहुँदा लाइसेन्स बनेन, लाइसेन्स नहुँदा बाइकमा विराटनगर आउँदा जादा ट्राफिक प्रहरीलाई फाइन तिर्नुपर्छ ।’ साथमा पढाईको प्रमणपत्र भएपनि नागरिकताका कारण सामान्य जागिर पनि नपाएको उनले बताए  ।

‘आमा बुबाको नागरिकता छ, मेरो छैन, डिग्री साथमा छ तर जागिर  छैन,’ उनले भने,‘ एउटा सिम कार्ड पनि मेरो नाममा छैन, अनागरिक हुनुको पिडा कति हुन्छ भन्ने हामीलाई  थाहा छ ।’
उनीहरु जस्तै मोरङमा १४ हजार भन्दा बढी जन्मसिद्ध नागरिकका सान्ताले  नागरिकता पाएका छैनन् ।

नेपालको संविधानले संविधान जारी भएको समय भन्दा अगाडि नागरिकता लिएका बुबा आमाका सन्तानलाई बंशजको नागरिकता दिने उल्लेख छ । नागरिकता वितरणका लागि कानुन नबनाएर राज्यले अनागरिक बनाएको उनीहरु गुनासो गर्छन् ।

‘नागरिकता पीडित संघर्ष समिति’ मार्फत युवाहरुले नागरिकता माग गर्दै   धर्ना सुरु गरेका हुन् ।  माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने नागरिकता पीडित संघर्ष समितिका संयोजक इन्द्रजीत साफीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्